६ वैशाख २०८१ बिहीबार
राजनीति

रविको वास्तविकता चितवनवासीले बुझिसके, मङ्सिरकाे उल्टो परिणाम आउँछ: चितवन उपनिर्वाचन २ का उम्मेदवार श्रेष्ठ

चितवन उपनिर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार तथा नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चरकर्मीहरुसँगको कुराकानीमा उनले मङ्सिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गरे।

उनले मङ्सिरमा उक्त निर्वाचन क्षेत्रबाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको बताए। उनले सभापति लामिछानेको पार्टी आफैँ अस्थिर बनिरहेको र सरकारलाई दिएको विश्वासको मतको कारणहरू जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा कामहरू गरिरहेकाले जनताले स्पट बुझिसकेको बताए। नेता श्रेष्ठले वैशाख १० गतेको निर्वाचनमा मङ्सिरको उल्टो परिणाम आउने दाबी गरे।

उनले भने, ‘मङ्सिरको निर्वाचनमा चितवनमा पनि स्वाभाविक रूपमा हावाहुरी आएको थियो। त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताको बिचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने स्थितिमा गएका छन्। कसले कसलाई समर्थन गरेको छ, कहिले कसलाई भोट हालेको छ, भोट हालेको कारण पनि खुलाउन पर्दैन, किन सरकारलाई समर्थन गरेको भनेर खुलाउनु नपर्ने, के कारणले हो भन्ने कुरा जनतालाई भन्नु नपर्ने, पार्टीबाट निर्णय गर्नु पनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ। मङ्सिरको उल्टो परिणाम अब आउनेछ । सत्ता साझेदार दलहरूको साझा उम्मेदवार म हुन्छु भन्ने कुरामा विश्वस्त छु । तत्कालीन उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्थ्यो, उहाँले प्रचारबाजी गर्नुभयो । पण्डाहरू दिनुभयो, त्यो फण्डामा एक पटक हो कि त भनेर चितवनका जनताहरू झुक्किएको अवस्था थियो। अहिले पूर्णरुपमा उसका गतिविधिबाट राम्रोसँग उसको वास्तविकता बुझे । नाकको डाँडी भाँच्ने भन्नेले जनताले बुझेका छन्, कसको रहेछ नाकको डाँडी भाँच्नुपर्ने जनताले बुझेका छन्।’

नेता श्रेष्ठले चितवनका जनता शिक्षित रहेकाले सभापति लामिछानेको वास्तविकता बुझिसकेको बताएका हुन। 

प्रकाशित: १६ चैत्र २०७९ ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App