१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश सरकारले गर्‍यो पत्रकारको स्वास्थ्य बिमा

बागमती प्रदेश सरकारले प्रदेशका १ हजार ५ सय ८५ जना पत्रकारको स्वास्थ्य बिमा गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारहरूको सामूहिक दुर्घटना बिमा गरेको हो। कानुन र सञ्चार मन्त्रालयको कार्य क्षेत्रसमेत रहेको आन्तरिक मामिला मन्त्रालयले बागमती प्रदेशका पत्रकारहरूको राष्ट्रिय बिमा कम्पनी लिमिटेडमार्फत प्रतिव्यक्ति चार लाख रूपैयाँको दुर्घटना बिमा गरेको हो।

श्रमजीवी पत्रकारहरूको सहजताका लागि स्वास्थ्य बिमा गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए। पत्रकार महासंघ तथा पत्रकार सम्बद्ध विभिन्न संघ संगठनको विशेष अनुरोधमा पत्रकार स्वास्थ्य बिमा गरिएको उनले बताए।

पत्रकार महासंघका केही जिल्ला शाखाले पनि पत्रकारको दुर्घटना बिमा तथा उपचार कोष लगायतका कार्य गरेको भए पनि सबै शाखाले नगरेको र प्रतिष्ठान, एसोसिएट लगायत नसमेटिएकाले प्रदेश सरकारले सबैलाई समेटेको मन्त्री श्रेष्ठले बताए। उनका अनुसार यो बिमालाई आगामी वर्षमा पनि निरन्तरता दिँदै जाने लक्ष्य रहेको छ।

पत्रकार महासंघको साधारण सदस्य रहेकाहरूको बिमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए। कार्कीका अनुसार ६३ करोड ४० लाख रूपैयाँबराबरको बिमा रकमको बिमा गरिएको हो।

यही चैत ५ बाट लागु हुने गरी बिमा गरिएको हो। पत्रकारको मृत्यु भएमा ४ लाख रूपैयाँ र दुर्घटना भएको खण्डमा एक लाख रूपैयाँबराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने छ। श्रेष्ठले बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चार क्षेत्रमा केही नयाँ काम गर्ने प्रयास गरिरहेका छन्।

प्रकाशित: १५ चैत्र २०७९ ०२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App