coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पहिचान पक्षधर र प्रहरीबीच झडप

कोसी प्रदेश नामकरण खारेजविरुद्ध विराटनगरमा आयोजना गरिएको प्रदर्शनमा सहभागी। तस्बिर: चुमन बस्नेत/नागरिक

कोसी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीच भएको झडपमा ३५ जनाभन्दा बढी घाइते भएका छन्। मंगलबार विराटनगरको महेन्द्र चोकबाट विरोध प्रदर्शन गर्दै गएका प्रदर्शनकारी र प्रहरीबीच विराटनगरको विग होटलअगाडि भएको झडपमा प्रहरी, शसस्त्र प्रहरी र प्रदर्शनकारी गरी ३५ जना भन्दा बढी घाइते भएका हुन्।

झडपमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दीपक पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार प्रदर्शनकारीतर्फ ९ जना घाइते भएको प्रारम्भीक जानकारी आएको भए पनि यकिन विवरण भने आइसकेको छैन। तर, प्रदर्शनकारीहरूले भने २५ जना कार्यकर्ता घाइते भएको र १३ जनलाई विराटनगरको पारस अस्पतालमा प्राथमिक उपचारपछि धरानको घोपामा थप उपचारका लागि पठाएको जनाएका छन्।

घाइते हुनेमा मोरङ ग्रामथान –६ का सुरज राई, सुनसरी धरान–१२ का अशोक राई, सुनसरी धरानका उदय लिम्बु, इटहरी–५ का पदम केरुङ, सुनसरी धरान–१६ का शिव आङदेम्बे, सुनसरी धरानका ज्ञानप्रकाश राई, धरान–५ का एक के दर्नाल, विशाल राई इटहरी–५ का पद्मलाल लिम्बु , धरान ११ की आस्था राई, इटहरी–२ तरहराका रेसम राई, इटहरी–५ का, रोयल राई, इटहरी–८ का विमल  किराती लगायत रहेको प्रदर्शनमा सहभागी अर्जुन जम्नेली राईले बताए।

प्रहरीले भीडलाई नियन्त्रणमा लिन प्रहरीले २९ राउण्ड हवाइफायर, ४४ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। मंगलबार विराटनगरको विग होटलमा आयोजना गरिएको एक कार्यक्रममा प्रदेश सांसदहरू भेला भएको भन्ने सूचनाका आधारमा प्रदर्शनकारीहरू विग होटलमा प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडप भएको थियो।

झडपका क्रममा विग होटलको मुल गेट, रेष्टुरेन्ट लगायतका संरचनामा प्रदर्शनकारीहरूले तोडफोडसमेत गरेका छन्। यसअघि चैत ५ गते विराटनगरमै भएको प्रदर्शनका क्रममा घाइते भएका सुनसरी धरानका पदम लिम्बुको चैत १० गते उपचारका क्रममा धरानको घोपामा मृत्यु भएको थियो। 

प्रकाशित: १५ चैत्र २०७९ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App