१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश: डिल्ली चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेश भएको छ।

लुम्बिनी प्रदेश प्रमुख समक्ष चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै गठबन्धनमा आबद्ध दलका ५३ सांसदहरुको हस्ताक्षर सहित दाबी पेश गरिएको हो।

यो संख्या प्रदेशको बहुमत सांसद संख्या हो। यस प्रदेशमा कुल सांसद संख्या ८७ रहेका छ। बहुमत सांसदहरुले हस्ताक्षर सहित नयाँ मुख्यमन्त्री नियुक्तिको माग गरेका गठबन्धनमा आबद्ध दलहरुले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष माग समेत गरेका छन्।

यस धारा अनुसार बहुमतका आधारमा सरकार गठन गर्न सकिने व्यवस्था उल्लेख छ। यसअघि पनि यो प्रदेशको दोस्रो मुख्यमन्त्री चयन हुँदा यसै धारा अन्तर्गत सरकार गठन भएको थियो।

‘मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता माननीय डिल्ली बहादुर चौधरीलाई नियुक्त गरिनु पर्ने भन्दै दाबी पेश भएको छ,’ प्रदेश सांसद तथा कांग्रेस लुम्बिनी प्रदेश प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेले भने ‘५२ जना माननीयहरुको हस्ताक्षर सहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश भएको छ, र संविधानको धारा १६८ (२) अन्तर्गत नै सरकार गठन गरिनु पर्ने माग राखिएको छ।’

कांग्रेस प्रवक्ता न्यौपानेले यसअघि शंकर पोख्रेललाई मुख्यमन्त्रीबाट हटाई माओवादीका कुल प्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्दा पनि १६८ (२) अन्तर्गत नै गरिएको थियो। फलतः अहिले पनि यसै धारा अन्तर्गत मुख्यमन्त्री नियुक्त हुनु पर्ने भन्दै गठबन्धनमा आबद्ध दलहरुले प्रदेश प्रमुख अमिक शेरचन समक्ष अनुरोध गरेका छन्।

प्रकाशित: १२ चैत्र २०७९ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App