जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्वुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाएका छन्।
आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आन्दोलनरत लिम्बुको प्रहरीको लाठी प्रहारबाट गम्भिर घाइते भई ज्यान गएको उल्लेख गर्दै त्यस्ता खालको अमानवीय ज्यादति रोक्न सरकारसँग माग समेत गरे।
गणतन्त्रमा पहिचानको अधिकार स्थापित गर्नका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेकाहरुमाथि सरकारको दमनबाट ज्यान जानु अत्यन्तै निन्दनीय काम भएको उल्लेख गर्दै उनले आईन्दा यस्ता खालका घटना नदोहो¥याउन सरकारको ध्यानाकर्षण गराए।
सांसद राईले भने, ‘प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि सो नामको विरोधमा प्रचण्ड, तीव्र विरोध र संघर्षको कार्यक्रम चलिरहेको कुरा सर्वविदितै छ। यही विरोध कार्यक्रमको शिलशिलामा गएको चैत्र ५ गते विराटनगरमा आयोजित शान्तिपूर्ण विरोध प्रर्दशनमा बर्बर ढंगले प्रहरीको प्रहार हुने अवस्था देखियो। र, सो दिन प्रर्दशनकारीहरु मध्ये यो संयुक्त संघर्ष समितिका एक जना सक्रिय नेता पदमकुमार लिम्वुको उहाँ संघीय लिम्बुवान मञ्चका नेता पनि हुनुहुन्थ्यो। उहाँको टाउँको गम्भिर ढंगले लाठी प्रहार हुन गएको थियो। र, उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत्र १० गते २ बजेर ४५ मिनेट जाँदा उहाँले सहादत प्राप्त गर्नु भएको छ। उहाँले देहत्याग गर्नु भएको छ। यो अत्यन्तै दुखद र गम्भिर घटना हुन गएको छ। यसप्रति सभामुखज्युमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। प्रदेश नम्बर १ को सरकारो समेत ध्यानाकर्षण गराउन चाहन्छु। मृतक सहिद पदमकुमार लिम्वुप्रति हार्दिक श्रद्धाञ्जली अर्पर्ण गर्दछु। र, परिवारजनमा समवेदना व्यक्त गर्न चाहन्छु। यस किसिमका दुखद घटनाको श्रृखंलाको अन्त कहीँ पनि भईरहेको छैन। संविधान जारी गर्ने शिलशिलामा भएको विरोध कार्यक्रम जसलाई मधेश आन्दोलन भनिन्छ। त्यो शिलशिलामा ५९ जना सहीद भएका थिए। उनीहरुले आफ्नो अधिकारका निम्ति जीवन बलिदान गरेका थिए। त्यो श्रृखला रोकियोस भन्ने हाम्रो चाहना हो। शान्तिपूर्ण ढंगले जनताले आफ्नो अधिकार माग्नु, आफ्नो पहिचान माग्नु उसको नैसर्गिक अधिकार हो। गणतन्त्र नेपालमा पहिचानको अधिकारका लागि लडेका लिम्वुको हत्या हुनु अत्यन्तै दुखद छ। निन्दनीय छ। तसर्थ, यस किसिमको ज्यादति रोक्न, अन्त्यका गर्नका निम्ति सरकारलाई म आग्रह गर्न चाहन्छु।’
संघीय लिम्बुवान मञ्चका नेता समेत रहेका लिम्बुको विराटनगरमा आन्दोलनको क्रममा प्रहरीको लाठी चार्जबाट टाउकोमा गम्भिर चोट लागेको थियो। उनको चैत्र १० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारको क्रममा निधन भएको थियो ।
प्रकाशित: १२ चैत्र २०७९ ०८:२७ आइतबार