७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सेनाले मनायो घोडेजात्रा

राष्ट्रपतिद्वारा सामान्य यात्रा

काठमाडौं उपत्यकामा प्राचीनकालदेखि नै मनाइँदै आएको महत्वपूर्ण पर्व घोडेजात्रा मंगलबार मनाइएको छ। नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहको आयोजना गरी घोडेजात्रा मनाएको हो।

विगत वर्षहरूजस्तै सेनाले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू एवं राज्यका विभिन्न विशिष्ट पदाधिकारीहरूको उपस्थितिमा घोडाका विभिन्न खेल कौशल प्रस्तुत गर्दै घोडेजात्रा मनाएको हो।

समारोहमा राइड पास, ब्यानर डिस्प्ले, टांगन घोडा दौड, चार्जर घोडा दौड, नेपाली सेना र गैरसैनिकको साइकल दौड, शो जम्प, क्याभली राइड, टेन्ट पेगिङ, क्रस टेन्ट पेगिङलगायतका प्रदर्शनी देखाइएको थियो।

यस्तै भल्टिङ एन्ड एक्रोब्याटिक्स तथा हर्ष पिटी, म्युजिकल राइड, क्रस कन्ट्री, पोनी ले डाउन ड्रिल, लान्स हिट प्याक, लान्स सुइरो र क्रिज, स्वर्ड एन्ड वाटरमेलन, रेन फ्री जम्त तथा महिला सिक्स वार, हंगेरियन पोस्ट र कम्बाइन्ड फायर जम्पजस्ता खेलको पनि प्रदर्शन गरिएको सैनिक जंगी अड्डाले जनाएको छ। समारोहकै बीचमा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कृत समेत गरिएको थियो।

कठमाडौं उपत्यकामा हरेक वर्ष चैत्र कृष्णपक्ष औंसीका दिन घोडेजात्रा मनाइन्छ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा एउटा रूखमा गुरुमापा नामको राक्षस बस्ने गरेको र उक्त राक्षसले सहरका बालबालिकालाई खाने गर्दथ्यो। त्यसलाई स्थानीयले विभिन्न उपाय लगाएर मारेका थिए। त्यसपछि गुरुमापा राक्षसको आत्मा जागेर फेरि अनिष्ट फैलाउन सक्ने भय कायम रहेकाले घोडेजात्रा मनाउन लागिएको किम्वदन्ती छ।

चैत्र कृष्णपक्ष औंसीका दिन घोडेजात्रा मनाएर घोडाको टापले गुरुमापाको आत्मालाई कुल्चिँदा फेरि ऊ नजाग्ने जनविश्वास रहिआएको छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने उपत्यकावासीको विश्वास छ। टुँडिखेलबाहेक काठमाडौं उपत्यका अन्य ठाउँमा पनि घोडेजात्रा मनाइन्छ। घोडेजात्राकै अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिँदै आएको छ।

घोडेजात्रामा राष्ट्रपतिको सामान्य यात्रा

नेपाली सेनाले हरेक वर्ष टुँडिखेलमा विशेष समारोहको आयोजना गरी घोडेजात्रा पर्व मनाउँदा राष्ट्रपति÷राष्ट्राध्यक्षलाई प्रमुख अतिथि मनाउँदै आएको छ।

नेपाली सेनाको परमाधिपतिको समेत रहने राष्ट्रपतिलाई समारोहमा राजकीय सवारीमार्फत उपस्थित गराउने सेनाको प्रचलन छ। यसक्रममा विगत वर्षमा सरकारको ‘प्रोटोकल’अनुसारको सवारीको प्रबन्ध गरेर राष्ट्रपति उपस्थित हुने प्रचलन थियो। पछिल्ला वर्षमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई घोडेजात्रामा उपस्थित गराउँदा ‘विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७’ अनुसारको सवारी मापदण्ड प्रयोग गरिएको थियो।

तर, मंगलबार राष्ट्रपति पौडेलले भने सामान्य अवस्थामा टुँडिखेलमा उपस्थित भएका छन्। सुरुमा औपचारिक समारोहमा उपस्थित हुनुपर्ने भन्दै अनाकानी गरिरहेको नेपाली सेनाले अन्ततः लामो समय सडक खाली नगराएरै राष्ट्रपति पौडेललाई कार्यक्रममा उपस्थित गराएको छ।

राष्ट्रपति पौडेलको यात्रामा एउटा अगुवा, पछुवा र जगेडा गाडी मात्रै गरी चारवटा गाडी मात्रै प्रयोग गरिएको छ। यस्तै पौडेल शीतल निवासबाट टुँडिखेल पुग्दा पूरै सडक खाली पनि गरिएको थिएन। केही समयका लागि मात्रै सडक खाली गरेर अगाडि बढ्दा अन्य सवारीसाधनलाई यात्रा गर्न दिइएको थियो।

राष्ट्रपति पौडेल शीतल निवासबाट अघि बढ्नुअगावै राष्ट्रपति कार्यालयबाट साधारण सवारी व्यवस्थापनका लागि गृह मन्त्रालयसँग समन्वय गरिएकाले यसो सम्भव भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। यसअघि शनिबार पनि वसन्तपुरस्थित कुमारीघर जाँदा राष्ट्रपति पौडेलले सडक खाली नगराएरै यात्रा गरेका थिए।

प्रकाशित: ८ चैत्र २०७९ ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App