१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गृहसहित तीन मन्त्रालयमा नेकपा एसको दाबी

गृह, अर्थजस्ता ठूला मन्त्रालय कुन दलले सम्हाल्ने भन्ने विवाद भइरहेका बेला नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको दाबी गरेको छ। नेकपा एसको मंगलबार बसेको सचिवालय बैठकले उपप्रधानमन्त्री र गृह मन्त्रालयसहित सरकारमा जाने निर्णय गरेको हो।

बैठकले मन्त्रालय तय गर्न र मन्त्री छनोट गर्न तीन सदस्यीय कार्यदल बनाएको छ। पार्टीअध्यक्ष माधव नेपालको संयोजकत्वमा बनाइएको कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन्। कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एसले कुनकुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन। यी तीनवटै दल संसद्मा सत्ता पक्षको कुर्सीमा बसिसकेका छन्। कांग्रेसले पनि सरकारमा जाने निर्णय गरिसकेको छ। तर शीर्ष तहमा अहिलेसम्म मन्त्रालय बाँडफाँट भइसकेको छैन।

सरकारमा सहभागिताबारे छलफल गर्न बसेको नेकपा एस सचिवालय बैठकमा पार्टीले लिने मन्त्रालयबारे छलफल भएको थियो। बैठकमा पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायत नेताले उपप्रधानमन्त्रीसहित गृह र जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय पार्टीले लिनुपर्ने धारणा राखेका थिए। बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू पाण्डे, केशवलाल श्रेष्ठ, जयन्ती राई, डा. बेदुराम भुसाल, महासचिव घनश्याम, उपमहासचिव गंगालाल तुलाधर र प्रवक्ता जगन्नाथ खतिवडा सहभागी थिए।

पार्टीका प्रचार विभाग तथा उपमहासचिव खतिवडाका अनुसार बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ। साथै पार्टी अध्यक्ष नेपाल संयोजकत्वमा गठित कार्यदलले मन्त्रालय र मन्त्रीबारे तय गर्ने उनले बताए। ‘बैठकमा जनतासँग प्रत्यक्ष जोडिएका गृह, सिँचाइ, खानेपानी, शिक्षा, खेलकुद, स्वास्थ्यलगायत मन्त्रालयमध्ये लिएर सरकारमा जानुपर्ने धारणा आएका छन्,’ खतिवडाले भने।

नेकपा एसले उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दाबी गर्दै आएको छ। तर प्रधानमन्त्रीले नेकपा एसलाई दुईवटा मात्रै मन्त्रालय लिन आग्रह गरिरहेका छन्। नेकपा एसबाट मन्त्री हुन राजेन्द्रप्रसाद पाण्डे, प्रकाश ज्वाला, शेरबहादुर कुँवर, किसान श्रेष्ठ, जयन्ती राई, गरिमा शाह, प्रेम आले, भानुभक्त जोशी, वेदुराम भुसाललगायत आकांक्षी भएकाले उनीहरूलाई क्रमशः व्यवस्थापन गर्न तीन मन्त्रालय आवश्यक भएको भन्दै दाबी गरिएको स्रोतले बताएको छ। नेकपा एसबाट पाण्डे र ज्वालामध्ये एकले सरकारमा नेतृत्व गर्ने बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। गृह, अर्थजस्ता मन्त्रालय कुन पार्टीले सम्हाल्ने भन्ने विवाद देखिएको छ। ‘गठबन्धन निर्माण र सरकारलाई टिकाउने विषयमा नेकपा एसको भूमिकालाई पन्छाउन मिल्दैन, त्यसकारण हामीले सरकारमा जानका लागि महत्वपूर्ण र जनताका लागि सेवाप्रदायक मन्त्रालय दाबी गरेका हाैं,’ नेकपा एसका प्रवक्ता खतिवडाले भने। ‘हामीले गृहसहित तीनवटा मन्त्रालय दाबी गरेका छौं,’ उनले भने।

विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि दलहरूबीच औपचारिक छलफल हुन सकेको छैन।

प्रकाशित: ८ चैत्र २०७९ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App