नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत निरीक्षण गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका अध्यक्षसमेत रहेका घिसिङले जलविद्युत् आयोजनाको हालसम्मको प्रगति विवरणबारे जानकारी लिएका हुन्। सो अवसरमा घिसिङले निर्धारित मितिभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे।
महत्त्वपूर्ण दातृ निकायको ऋण सहभागितामा निर्माणाधीन आयोजना समयमै सकेर उदाहरण प्रस्तुत गर्नुपर्नेमा घिसिङको भनाइ थियो।
कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरण श्रेष्ठ र आयोजना प्रमुख राजाभाइ शिल्पकारले आयोजनाको प्रगतिबारे जानकारी गराएका थिए।
आयोजनाले तीन वटै प्याकेजका कामलाई तीव्रता दिएको छ। आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जे।भी।ले निर्माण गरिरहेको छ। सोअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन्। रासस
प्रकाशित: ६ चैत्र २०७९ २०:४४ सोमबार