६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

स्ववियु निर्वाचनः मकवानपुरका ५ मा अनेरास्ववियु र ३ सत्तापक्ष विद्यार्थी विजयी

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुरका ८ वटै क्याम्पसको अन्तिम नतिजा प्राप्त हुँदा ५ वटामा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु नेतृत्वको गठबन्धन र ३ वटामा सत्ता पक्षका विद्यार्थी संगठन विजयी भएका छन्।

यहाँ एमालेको अनेरास्ववियु, नेकपा (एस) को अनेरास्ववियू र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको अखिल क्रान्तिकारीको गठबन्धन हुँदा अर्कोतर्फ कांग्रेसको नेवि संघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको गठबन्धन बनेको थियो। मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमखी क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार छोइसाङ लामा (तामाङ) विजयी भए। उनले अनेरास्ववियुका नवराज शर्मा ९पौडेल० लाई हराएका हुन्। तामाङले ८१३ मत प्राप्त गर्दा पौडेलले ६८२ मत प्राप्त गरेका थिए। यसैगरी सचिवमा नेवि संघका वर्षाद् घिमिरे र कोषाध्यक्षमा अनेरास्ववियुका हिमानीकुमारी सुवेदी निर्वाचित भए। सदस्यहरूमा अनेरास्ववियुका ५ जना र अखिल क्रान्तिकारीका ३ जना विजयी भएका छन्।  

यस्तै वन विज्ञान अध्ययन संस्थानको स्ववियु अध्यक्षमा नेवि संघका दीपेन्द्र कँडेल निर्वाचित भएका छन्। उनले अनेरास्ववियुका अरुण अधिकारीलाई पराजित गरेका हुन्। कँडेलले २१४ मत पाउँदा अधिकारीले १०२ मत पाएका थिए। स्ववियु सचिवमा अनेरास्ववियुका किस्मत रेग्मी र कोषाध्यक्षमा क्रान्तिकारीका दिपना खड्का मगर विजयी भएकी छिन्। स्ववियु कार्यसमिति सदस्यमा क्रान्तिकारीका तीन र नेविसंघका दुईजना विजयी भएका छन्।  

हेटौंडा क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ। अध्यक्षमा अनेरास्ववियुका अभि मैनाली विजयी भएका हुन्। उनले नेवि संघका राजिव फुयाँललाई हराएका हुन्। मैनालीले २९० मत पाउँदा फुयाँलले १८५ मत प्राप्त गरेका थिए।  

मनहरी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियूका कुमार घिसिङ विजयी भए। उनले नेवि संघका उम्मेदवार किशोर लम्साललाई २ मत अन्तरले हराएका हुन्। घिसिङले २९ मत प्राप्त गर्दा  लम्सालले २७ मत प्राप्त गरेका थिए। निर्मल बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुकै सरोज अर्याल विजयी भए। उनले १३२ मत प्राप्त गर्दा नेवि संघका जयबहादुर रोक्काले ५२ मत प्राप्त गरे। हेटौंडा–६ मा रहेको वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिलवालको प्यानलै विजयी भयो। सिलवालले १८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी राप्रपा निकटको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनकी मनिका गौतमले ९ मत प्राप्त गरिन्। हेटौंडा १६ मा रहहेको जनप्रिय क्याम्पसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका मुना गोले विजयी भएकी हुन्। थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा भने अखिल क्रान्तिकारीका पुस्कल श्रेष्ठ सर्वसम्मत अध्यक्ष पदमा चयन भएका थिए।  

मकवानपुर क्याम्पसमा ढल्यो अनेरास्ववियुको विरासत

मकवानपुरकै ठूलो र सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एमालेको अनेरास्ववियुले पहिलो पटक हार व्यहोरेको छ। यस क्याम्पसमा अनेरास्ववियुले हालसम्म एकलौटी जित हाँसिल गर्दै आएको थियो। मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीका छोइसाङ लामा अध्यक्षमा निर्वाचित भएका छन्। लामाले ८१३ मत प्राप्त ल्याउँदा उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका नवराज शर्मा पौडेलले ६८२ मत प्राप्त गरे। केही दिन अघि नेकपा एमालेको सचेतकको जिम्मेवारीमा चयन भएका महेश बर्तौला यही क्याम्पसमा २०६२ र २०६५ सालको स्ववियु निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएका थिए। मकवानपुर क्याम्पसमा अनेरास्ववियुले हार व्यहोरेपछि एमाले तथा अनेरास्ववियुका नेता कार्यकर्ताहरु सामाजिक सञ्जालमार्फत एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन्।  

प्रकाशित: ६ चैत्र २०७९ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App