१५ चैत्र २०८० बिहीबार
राजनीति

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय: कार्यकर्तामा उर्जाको सञ्चार

गत स्थानीय तह हुँदै प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्म बनेको गठबन्धनमा आबद्ध दलहरुले नागरिकका अपेक्षा पुरा गर्नका लागि गठबन्धनको अपरिहार्यता माथि जोड दिएर मत मागे। 

राष्ट्रियता जोगाउनका निम्ति गठबन्धन गरिएको भन्दै मतदाता सामु प्रस्तुत गरिएको साझा चुनावी एजेण्डाले जित हासिल गर्‍यो पनि। तर निर्वाचन पश्चात् सरकार गठनका क्रममा उक्त गठबन्धन भत्कँदा मतदाताहरुमा नैराश्यता छायो।

सरकारको नेतृत्वको विषयमा कांग्रेस माओवादी बिच चलेको होडले पुरानो गठबन्धन भंग भयो। माओवादी एमालेसँग सहकार्य गर्न गईपुग्यो र एमालेको आडमा माओवादीले आफ्नो नेतृत्वमा सरकार गठन गर्‍यो। ५ वर्ष सम्म सत्तामै रहेर नागरिकसँग निकट रहने चुनावी उद्घोष गरेको कांग्रेस सरकार बाहिर बस्नु पर्ने परिस्थिति बन्दा कांग्रेस कार्यकर्ताहरूमा नैराश्यता व्याप्त भयो।

कहिले गठबन्धन तोडेर माओवादीले धोका दिएको आरोप लगाए भने कहिले आफ्नै पार्टी नेतृत्वको कमजोरी माथि औँला ठड्याए। त्यो बेला नेतृत्व प्रति प्रश्न उठाएका कांग्रेसीहरु ‘जनमतको उपेक्षा र जनतालाई धोका दिएको’ भनेरै नेतृत्वको खलाफमा उत्रिए।

‘हिजो सँगै गठबन्धनमा रहेर चुनावमा होमिदा हाम्रा मुद्दाहरु साझा बने, र मतदाताहरुलाई पनि हामीहरुले देश विकासका निम्ति भनेर गठबन्धनको अपरिहार्यता माथि ढुक्क रहन प्रतिबद्ध बनायौँ,’ कांग्रेस दाङ जिल्ला उपसभापति गिरीराज सुवेदीले भने ‘तर सरकार गठनका बेला गठबन्धन भत्किएपछि कांग्रेसी कार्यकर्ताहरूमा चरम निराशा छायो, मतदाताहरु समक्ष अब कसरी फेस गर्ने भन्ने चुनौती हाम्रा सामु रह्यो।’

त्यसो त गठबन्धनको अपरिहार्यता सँगै कांग्रेसले ५ वर्ष सम्म स्थायी सरकार रहने र उक्त सरकारमा कांग्रेसको जबरजस्त सहभागिता रहने भनेर मतदाताहरुलाई फकाईरहेको थियो।

कांग्रेस सरकारमा सहभागी भए आम नागरिकका विकास निर्माण सम्बन्धी अपेक्षा पुरा हुने भनेर आशा जगाएको कांग्रेस गठबन्धनबाट अलग हुँदा मतदाताहरुमा कांग्रेस प्रतिको भरोसा टुट्ने संशय कांग्रेसीजनमा थियो नै।

‘हामीहरुले ५ वर्ष सम्म कांग्रेस सरकारमा रहन्छ र विकास निर्माणको अपेक्षा कांग्रेसले मात्रै पुरा गर्न सक्छ भनेर मतदाताहरुलाई आश्वस्त पारेका थियौँ,’ उपसभापति सुवेदीले भने ‘तर सरकारमै सहभागी नहुने परिस्थिति बनेपछि त मतदाताहरुले कांग्रेसलाई हेर्ने दृष्टिकोण खराब हुने नै भयो नि।’

तर राष्ट्रपतिको निर्वाचनले पुनः पुरानै गठबन्धनका घटकहरुलाई एकै थलोमा उभ्याइदियो। पुरानै गठबन्धनलाई कायम राख्ने भनेर मन माझेका दलहरुले अब सत्ता साझेदारीको मार्ग समेत कोरिसकेका छन्। यस क्रममा सरकार गठनका बेला माओवादीले अलग बनाइदिएको कांग्रेस अब सरकारमा जाने निर्णयमा पुगिसकेको छ।

आइतबार सरकारमा सहभागी हुने भनेर औपचारिक निर्णय गरेको कांग्रेसको यो निर्णयलाई आम कांग्रेसी कार्यकर्ताहरूलाई ऊर्जाको सञ्चार गराईदिएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ का सन्तोष योगी कांग्रेस दाङका आमन्त्रित जिल्ला सदस्य हुन्। गत निर्वाचनमा उनी माओवादी लगायत दलहरुको गठबन्धनको पक्षमा मत माग्न गाउँ केन्द्रित बने। तर निर्वाचनको मत परिणाम पश्चात् सरकार गठन निर्माणका क्रममा गठबन्धन तोडिदा सन्तोषलाई व्यक्तिगत असन्तुष्टि पैदा मात्रै भएन, अब मतदाताका सामु कसरी फेस गर्ने भन्ने चुनौती पैदा भयो।

‘कांग्रेस सरकारमा सहभागी हुन्छ र विकास निर्माणले गति पाउँछ भनेर हामीहरुले मतदातालाई कन्भिन्स गराएका थियौँ,’ योगीले भने ‘तर सरकारमै सहभागी नहुने परिस्थिति बनेपछि आम कार्यकर्ताहरूमा चरम नैराश्यता पैदा भयो, मतदाताहरु सँग कसरी फेस गर्ने भन्ने अर्को चुनौती थपियो।’

तर अहिले पुनः कांग्रेस सरकारमा जाने परिस्थिति बनेपछि भने सन्तोषले आम कार्यकर्तामा ऊर्जाको सञ्चार भएको महसुस गरेका छन्। उनका अनुसार कांग्रेसको आइतबारको निर्णयले मतदाता सामु कांग्रेस प्रतिको विश्वास जोगिएको छ।

‘आम नागरिकमा कांग्रेस प्रति आड भरोसा छ,’ उनले भने ‘तर सरकारमा सहभागी नहुँदै गर्दा यो भरोसा तोडिँदै जान सक्थ्यो, तर आइतबार पार्टीले गरेको निर्णयले त्यो विश्वास जोगाएको छ भने कार्यकर्ताहरूमा ऊर्जाको सञ्चार भएको छ।’

घोराही उपमहानगर ७ का टोपबहादुर बुढाथोकी सरकार गठनका क्रममा गठबन्धन भत्कँदा माओवादी प्रति असन्तुष्ट त थिए नै तर त्यो भन्दा बढी आफ्नै पार्टी कांग्रेसको नेतृत्व प्रति असन्तुष्ट देखिए। गठबन्धन नटुटाउने र ५ वर्ष सम्म गठबन्धनले देशमा विकास ल्याउने भनेर मतदाताहरु सामु गरेको कबोललाई पार्टी नेतृत्वले बेकामे बनाइदिएको उनको बुझाई थियो। तर फेरिएको राजनीतिक परिदृश्यले पुनः कांग्रेसलाई सरकारमा सहभागी बनाउने माहोल निर्माण भएपछि उनी पनि खुसी छन्।

‘यो खुसीको कुरा हो, जनतासँग गरिएका बाचा पुरा गर्नका लागि कांग्रेस सरकारमा सहभागी हुनै पर्थ्यो,’ नेपाल विद्यार्थी संघ दाङका निवर्तमान उपसभापति बुढाथोकीले भने ‘कांग्रेसले जुन निर्णय आइतबार गर्‍यो, यो हामी कार्यकर्ता र आम मतदाताहरूका लागि निकै सान्दर्भिक छ।’

कांग्रेसले सरकारमा सहभागी हुने भन्दै गरेको निर्णयले विकास निर्माणका एजेण्डा कार्यान्वयनमा बल पुग्ने मात्रै नभई पार्टी संगठन समेत चुस्त बन्ने कार्यकर्ताहरुले देखेका छन्।

‘कांग्रेस सरकारमा सहभागी हुने भएपछि यसले कार्यकर्ताहरूमा ऊर्जा प्रदान गरेको छ,’ घोराही उपमहानगरपालिकाका स्थानीय कार्यकर्ता लक्ष्मीमान चौधरीले भने ‘अब जनता सामु कांग्रेस सरकारका रुपमा प्रस्तुत हुने र यसले कांग्रेस प्रतिको माहोल थप बढाउँछ।’

जिल्ला पार्टी उपसभापति सुवेदीले पनि कांग्रेस सरकारमा सहभागी हुने भएपछि आम कार्यकर्तामा ऊर्जा प्राप्त भएको र यसले संगठन निर्माणमा फाइदा पुग्ने तर्क गर्छन्।

‘कार्यकर्ताहरूमा रहेको निराशा तोडिएको छ र नयाँ ऊर्जा देखिएको छ,’ उनले भने ‘यो ऊर्जा पार्टी संगठन निर्माणमा पनि उपयोग हुन्छ, यसले संगठनलाई चुस्त राख्न मद्दत पुग्छ नै।’

सरकारमा सहभागी दलको हैसियतले कांग्रेस स्थानीय स्तर सम्म पुग्दा मतदाताहरुको विश्वास पार्टी प्रति अझ बढ्ने उनको बुझाई छ। मतदाताहरुको विश्वास बढे जनमत पनि कांग्रेसको पक्षमा स्वतः बढ्ने उनले बताए।

प्रकाशित: ५ चैत्र २०७९ १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App