१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तामझामबिनै कुमारीघरमा राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार वसन्तपुरस्थित कुमारीघर पुगेर जीवित देवी कुमारीको दर्शनपछि बाहिरिँदै। तस्बिर: रासस

रिमझिम पानी परिरहेको थियो। तर वसन्तपुर क्षेत्रको भिड घटेको थिएन। भिडमा कोही छाता ओढिरहेका थिए त कोही भिजेरै यात्रा गरिरहेका थिए। यस्तै अवस्थामा तीनवटा गाडी हर्न बजाउँदै भिड छिचोल्दै सुस्त गतिमा अघि बढे। तीमध्ये बीचको गाडीमा सवार थिए, राष्ट्रपति रामचन्द्र पौडेल। ‘राष्ट्रपति सवारी’मा हुने राजसी तामझाम र प्रशस्त सुरक्षाकर्मी परिचालन गरेर दोहोरो सडक खाली पार्ने अवस्थाका कारण सास्ती भोगिरहेका र त्यस्ता सवारीका सन्दर्भमा चौतर्फी आलोचना सुनिरहेका सर्वसाधारण राष्ट्रपति पौडेलको सरल खालको यात्रा देख्दा चकित भए। सुरुमा त वसन्तपुरको भिडमा रहेकाहरूले ‘राष्ट्रपतिको सवारी हो’ भनेर पत्याएका समेत थिएनन्।

यो घटना शनिबार दिउँसोको हो। राष्ट्रप्रमुख भएपछि जीवित देवीका रूपमा पुजिने कुमारीको दर्शन गर्ने परम्परा छ। यसअघिका राष्ट्रपति र राजामहाराजाले पनि उक्त परम्पराको पालना गर्दै आएका थिए। फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेललाई शनिबार बिहान मात्रै कुमारीघरको प्रतिनिधिमण्डलले शीतल निवास पुगेर पूजाको प्रसादसहित बधाई दिएको थियो। त्यसपछि परम्परालाई निरन्तरता दिन राष्ट्रपति पौडेल कुमारी दर्शन गर्न वसन्तपुरस्थित कुमारीघर पुगेका थिए। आफ्नो यात्रामा सर्वसाधारणलाई सास्ती नदिन र धेरै तामझामसहितको सुरक्षा व्यवस्था नगर्न उनले सुरक्षा संयन्त्रलाई आग्रह गरेका थिए।

‘राष्ट्रपतिज्यूले कुनै कारगेड चाहिँदैन भन्नुभयो। सहज र सरल यात्रा गर्ने भनेपछि एउटा गाडी अगाडि र एउटा पछाडि लगाइयो,’ राष्ट्रपतिका सञ्चार सहयोगी खिला कार्कीले भने, ‘सडक खाली नगरेरै सहज रूपमा कुमारीघर पुगी दर्शन गरेर उहाँ फर्किनुभयो।’ वसन्तपुर पुग्दा पनि गाडी र आसपासका पैदलयात्रीलाई यताउता नगरिएको उनले बताए।

‘आफू राष्ट्रप्रमुख भए पनि लोकतन्त्रमा निर्वाचित जनताका छोरा भएकाले जनताकै स्तरमा रहने उहाँको चाहना छ। त्यसकारण राजारजौटाका लागि प्रयोग हुने सवारी शब्दसमेत आफ्नो यात्रामा प्रयोग नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ,’ कार्कीले भने। कुमारी घरमा सहज यात्रा गरेपछि राष्ट्रपति पौडेलको प्रशंसा भइरहेको छ।

राष्ट्रपति पौडेलका आगामी अधिकांश यात्रा यसैगरी हुने सचिवालयले जनाएको छ। ‘सधैं बाहिर निस्कँदा यसैगरी निस्कनुहुन्छ। सुरक्षामा दुई गाडीभन्दा बढी हुन्नन्। कसैलाई सास्ती हुँदैन,’ कार्कीले भने। राष्ट्रपतिको औपचारिक भ्रमणका लागि भने नेपाली सेनाले केही समस्या खडा गर्न सक्ने उनले बताए। ‘सरकारले नीति तथा कार्यक्रम ल्याउने बेला, राष्ट्रिय दिवसमा, घोडेजात्राका अवसरमा भने सेनाले मान्ला जस्तो देखिएको छैन,’ राष्ट्रपतिका सञ्चार सहयोगी कार्कीले भने, ‘तर सरकारबाटै विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरेर सहज पार्न गृहकार्य भइरहेको छ।’

राष्ट्रपतिका लागि उम्मेदवारी दिएपछि पौडेलले आफू निर्वाचित भए सवारीका नाममा जनतालाई सास्ती नदिने बताएका थिए। तर निर्वाचित भएको दोस्रो दिन नै पशुपतिको दर्शन गर्न जाँदा सडक खाली गराइएपछि उनी आलोचित बनेका थिए। त्यसपछि पशुपतिमा जाँदाजस्तो आलोचना दोहोरिन नदिन फागुन २९ गते सहिद गेटका सालिकमा माल्यार्पण गर्न जाँदा सडक जाम हुने देखिएपछि राष्ट्रपति पौडेलले लैनचौरस्थित सहिद पार्क गएका थिए।

‘प्रोटोकल राज्यको क्षमताअनुसार’

राष्ट्रपति पौडेलले सहज यात्रा गर्दा यसअघिका दुई राष्ट्रपतिको यात्राबारे पनि टीकाटिप्पणी भइरहेका छन्। यद्यपि पहिलो राष्ट्रपति डा. रामवरण यादव हुँदा पनि यात्रा केही सहज भएको तत्कालीन प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए। ‘डा. यादव राष्ट्रपति हुँदा सामान्य कार्यक्रममा जाँदा ट्राफिक प्रहरीलाई मात्र जानकारी गराउनुहुन्थ्यो। धेरै तामझाम गर्ने र जनतालाई दुःख दिने काम उहाँले गर्नुभएन,’ दाहालले भने, ‘औपचारिक भनिएका सवारीमा भने सरकारको कार्यविधिबाहेक सुरक्षा निकायले मान्ने स्थिति थिएन। त्यसमा पनि सहजता ल्याउन विभिन्न प्रयास भएका थिए।’

राष्ट्रपति सवारीलाई राज्यले ‘प्रोटोकल’ र ‘डेकोरम’ पुर्‍याउने नाममा आफ्नो क्षमता र औकातभन्दा बढी गर्न नहुने दाहालको बुझाइ छ। ‘उतिबेलैदेखि हामीले यो विषय उठाउँदै आएका हौं। अहिले झन् बढी उठ्यो,’ उनले भने, ‘राष्ट्रप्रमुखको सानसौकतसँग राज्यको मर्यादा जोडिने नै हो भने पनि आफ्नो क्षमता र औकात नाघ्नु हुन्न।’ राष्ट्रपतिको सुरक्षा र सानसौकतका नाममा जनतालाई दुःख दिन नहुने उनको धारणा छ। ‘जनतालाई दुःख दिँदा त्यो संस्था र व्यवस्थाप्रति नै नकारात्मक असर गर्छ,’ उनले भने।

पूर्वगृह सचिव गोविन्द कुसुमले पनि जनतालाई दुःख दिएर राष्ट्रपति र राष्ट्रपति संस्थाको मानमर्यादा नबढ्ने बताए। ‘राष्ट्रपति संस्था कस्तो बनाउने भन्ने हाम्रो विचारको कुरा हो। राष्ट्रपति संस्थाको मानसम्मान बढाउने नाममा जनतालाई दुःख दिनुहुन्न,’ उनले भने, ‘अगाडिपछाडि साइरन बजाउँदैमा, तामझाम र तडकभडक गर्दैमा राष्ट्रपतिको मान बढ्दैन।’

विशिष्ट व्यक्तिको सुरक्षामा आन्तरिक र बाह्य कुरालाई ध्यानमा राखेर गर्नुपर्ने कुसुमको तर्क छ। ‘विशिष्ट व्यक्तिको सुरक्षामा बढीजसो आन्तरिक गुप्तचरीबाट हुनुपर्छ। त्यो हामीकहाँ कमजोर भएको हो कि भन्ने आशंका छ। त्यसैले बाह्य कुरामा बढी ध्यान दिइन्छ। त्यसलाई सुधारेर आन्तरिकमै बढी जोड दिनुपर्छ,’ उनले भने।

प्रकाशित: ५ चैत्र २०७९ ००:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App