coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चितवनका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन अन्योल, १५ क्याम्पसमा ताला

भरतपुर १० स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत निर्मल धिताल त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचनको मिति घोषणा गरेसँगै उत्साहित थिए।

स्ववियूमा विद्यार्थीले चुनेका नेता आउने भएपछि शैक्षिक गुणस्तरमा सुधार आउने धितालको विश्वास थियो। तर, निर्वाचनको मिति तोकिएको अघिल्लो दिनसम्म क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी हुँदा उनी उनको उत्साह धेरै टिक्न सकेन।

‘१४ वर्षदेखि स्ववियू निर्वाचन हुन सकेको थिएन। हामीलाई स्ववियूमा सहभागी हुने अवसर थियो,’ स्नातक तह चौथो वर्षमा अध्ययनरत धितालले निराश हुँदै भने, ‘विद्यार्थी संगठनकै कारण स्ववियू निर्वाचन अन्योलमा छ।’

स्ववियू निर्वाचन गराउनका लागि विद्यार्थी संगठनले पटक पटक दबाब दिँदै आएका थिए। दबावका बिच त्रिभुवन विश्वविद्यालयले चैत्र ५ गतेलाई स्ववियू निर्वाचनको मिति घोषणा गर्‍यो। तर, चितवनका १५ वटा क्याम्पसमा स्ववियू निर्वाचनको प्रक्रिया अवरुद्ध भएको छ। अखिल (क्रान्तिकारी) चितवनले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि अवरुद्ध भएको हो।

चितवन जिल्लामा ३ वटा आङ्गिक सहित १८ वटा क्याम्पसमा निर्वाचन हुँदैछ। त्यसमध्ये १२ वटा क्याम्पसमा विद्यार्थीले मनोनयन दर्ता गराएका थिए। तर, जिल्लाका सबै क्याम्पसमा एकै पटक निर्वाचन हुनुपर्ने माग राखेर अखिल (क्रान्तिकारी) ले ताला लगाएपछि निर्वाचन अन्योलमा परेको हो। 

विद्यार्थीको अवरोधकाबिच तत्काल निर्वाचन गर्न नसकिने सप्तगण्डकी क्याम्पसका प्रमुख मणी महत्तो बताउँछन्।

‘हामी निर्वाचन गर्ने पक्षमा हो। तर, विद्यार्थी संगठनले नै अवरोध गरेपछि कसरी निर्वाचन गर्न सक्छौँ,’ उनले भने, ‘१२ गतेदेखि स्नातक तह चौथो वर्षको परीक्षा छ अहिले नै निर्वाचन हुने सम्भावना छैन।’ 

सप्तगण्डकी क्याम्पसमा कक्षा ११ र १२ का विद्यार्थीलाई पनि निर्वाचनमा सहभागी गराउनुपर्ने भन्दै विद्यार्थीले माग गरेका थिए। तर, क्याम्पस प्रशासनले त्रिविको निर्णय विपरीत जान नसक्ने भन्दै मतदाता नामावलीमा नाम समावेश गरेको थिएन। विद्यार्थीको अवरोधका कारण सप्तगण्डकीमा मनोनयन समेत हुन सकेको थिए। प्रशासनको आडमा निर्वाचन गराउन नसक्ने उनले बताए।

त्रिविको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा पनि निर्वाचन हुन सकेको छैन। राजनीतिक दलको नै दबाब भएपछि निर्वाचन गर्न नसकिएको क्याम्पस प्रमुख प्राध्यापक दयाराम पौडेल बताउँछन्।

‘सत्ता पक्षकै विद्यार्थीबाट क्याम्पसमा ताला छ। यहाँ राजनीतिक दलका कुरा पनि छन्,’ उनले भने ‘प्रशासनबाट पनि सहमतिका आधारमा निर्वाचन गराउन सुझाव छ। विद्यार्थीको सहमति विना तोकिएको मितिमै निर्वाचन गराउन सक्दैनौँ।’

फागुन २६ गते हामीले १० देखि बजेसम्म उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका थियो। साढे ११ बजेतिर विद्यार्थी संगठनले ताला लगाएपछि निर्वाचनको गतिविधि अगाडि बढाउन सकेको थिएन। मंगलवार प्रहरी प्रशासनले ताला फोरेपछि वीरेन्द्र बहुमुखी क्याम्पसले मनोनयन प्रक्रिया अगाडि बढाएको थियो। 

बालकुमारी कलेजका मतदान अधिकृत डा.गुणराज क्षेत्री २–३ वटा विद्यार्थी सङगठनको तालाबन्दीको कारण निर्वाचन अन्योलमा परेको बताउँछन्। कलेजको लेखा शाखा, प्रशासन शाखा, र स्ववियु निर्वाचन समितिको कार्यलयमा तालाबन्दी भएको क्षेत्रीले बताए।

चितवनमा वीरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी क्याम्पस, मैयाँदेवी कन्या कलेज, प्रेम बस्ती बहुमुखी क्याम्पस, उमागढी आदर्श शेरचन र पूर्वी चितवनका भुवानी शंकर क्याम्पस, रामपुर कृषि क्याम्पस खैरहनी, चितवन इन्जिनेरिङ क्याम्पस रामपुर, जनआदर्श बहुमुखी क्याम्पस, शहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगर, माडी बहुमुखी क्याम्पस माडी, अमर जनशक्ति क्याम्पस पटिहानी, अरुणदय कलेज गितानगर, शहिद स्मारक कलेज शारदानगर, हरिकुमार स्मारक कलेज मंगलपुर, सर्वशान्ति कलेज कुरिन्टार क्याम्पसमा निर्वाचन हुँदै थियो। तर, रामपुर कृषि क्याम्पस खैरहनी, शहिद स्मृति क्याम्पस रत्ननगर र माडी क्याम्पसरमा मात्र निर्वाचन हुने देखिएको छ।

अन्य संगठनहरुले भने समयमै निर्वाचन गर्न अनुरोध गरेका छन्। नेपाल विद्यार्थी संघ, अनेरास्ववियूले विज्ञप्ति नै निकालेर समयमा निर्वाचन गर्न अनुरोध गरेका हुन्। निर्वाचन स्थगित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको आग्रह गरेका हुन्।

स्ववियू निर्वाचन हरेक दुई/दुई वर्षमा हुने निर्वाचन हो। तर, चितवनमा २०६५ सालपछि निर्वाचन हुन सकेको छैन। यसअघि तोकिएका २ वटा निर्वाचन अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका कारण भएको थिएन। स्ववियू निर्वाचनले विद्यार्थीको क्षमता वृद्धि सँगै शैक्षिक सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा स्ववियू निर्वाचन समयमै हुनुपर्ने अनेरास्वियूका पूर्व जिल्ला अध्यक्ष प्रकाश आचार्य बताउँछन्।

जिल्ला प्रशासन कार्यालय चितवनले सम्पूर्ण क्याम्पस व्यवस्थापनहरूलाई तोकिएकै मिति चैत ५ गते नै स्ववियु निर्वाचन गर्ने गरी त्यसअघिका विभिन्न क्रियाकलाप र गतिविधिहरूको संक्षिप्त प्रक्रिया अवलम्बन गरी निर्वाचन गर्न भनेको छ। तर, चितवनका क्याम्पसहरू विद्यार्थीको अवरोधका बिच निर्वाचन गराउन नसक्ने बताउँछन्।

प्रकाशित: ४ चैत्र २०७९ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App