१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्ववियु निर्वाचन: भक्तपुरमा दुई सय ५० रुपैयाँमै कलेज भर्ना !

कलेज तहमा एक जना विद्यार्थी भर्ना हुन कति शुल्क लाग्ला? धेरैको उत्तर हुनसक्छ दस हजार, २० हजार, ३० हजार वा त्यो भन्दा बढी। तर भक्तपुरकै सबैभन्दा पुरानो सरकारी क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा भने दुई सय २० रुपैयाँमा विद्यार्थी भर्ना गरिएको छ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको मुखमा यसरी विद्यार्थी नभई नेतागिरी गर्नका लागि, चुनाव जित्नका लागि नक्कली विद्यार्थी भर्ना गरिएको भन्दै विद्यार्थी संगठनहरुले विरोध गरेका छन्। नेपाली कांग्रेस निकटको ठुला तीन वटा दल निकटको संयुक्त प्यानलबाहेकका अरू विद्यार्थी संगठनहरुले यसको विरोध जनाउँदै आएका छन्।

भक्तपुर बहुमुखी क्याम्पसमा तीन वटा ठुला दल निकटको नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) संयुक्तले संयुक्त रुपमा प्यानलसहित उम्मेदवार बनेको छ। यसबाहेक यहाँ नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिनेश खड्गीको अध्यक्षतामा एकल प्यानलसहित उम्मेदवारी दिएको छ। यसबाहेक राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र भक्तपुर बहुमुखी क्याम्पस स्पोटर्स ग्रुपले पनि एकल उम्मेदवारी दिएका छन्।

भक्तपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका स्ववियु निर्वाचन अधिकृत डा. शेरसिंह रैखोलाले दुई सय ५० रुपैयाँमा विद्यार्थी भर्ना भएको स्वीकारे। गरिब तथा जेहेन्दार विद्यार्थीलाई कम शुल्कमा भर्ना लिन सकिने नियम अनुसार २१ जना विद्यार्थी भर्ना भएको उनले बताए। चैत ५ गतेसम्म भर्ना लिन सकिने व्यवस्था रहे पनि यो वर्ष स्ववियु निर्वाचन रहेकोले फागुन १९ गतेसम्म भर्ना लिएको उनले जनाए। यहाँ थप चार हजार एक जना विद्यार्थी रहेको उनले जनाए।

यस क्याम्पसमा तीन वटा विद्यार्थीको संयुक्तसहित कुल सात वटा विद्यार्थी संगठनहरु मैदानमा छन्। नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) ले पुकार पराजुली ‘बी’ को अध्यक्षतामा प्यानलै उम्मेदवारी दिएको छ। उता (नेमकिपा) निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिनेश खड्गीको अध्यक्षतामा पूरै प्यानल नै उम्मेदवारी दिएको छ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले साजन गुलुको अध्यक्षतामा र अखिल (क्रान्तिकारी) संयुक्तले अस्मिता कार्कीको अध्यक्षतामा उम्मेदवारी उठाएको छ। तर राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले अध्यक्ष, सचिव, कोषाध्यक्ष र चार सदस्य मात्रै उम्मेदवार बनाएको छ भने अखिल (क्रान्तिकारी) संयुक्तले पनि अध्यक्ष, सचिव र एक जना सदस्य मात्रै उम्मेदवार बनाएको छ।

यस क्याम्पस विगत लामो समयदेखि नेमकिपा निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघले स्ववियुमो विजयी हुँदै आएको छ। यस हिसाबले उसले पूर्व स्ववियु अध्यक्ष दिनेश खड्गीलाई नै उम्मेदवार बनाएको छ भने तीन ठुला दल निकटका विद्यार्थी संगठनहरुले खड्गीलाई चुनौती दिन संयुक्त उम्मेदवारी दिएका छन्।

जिल्लामा रहेका धेरै कलेजहरूमध्ये भक्तपुर बहुमुखी क्याम्पस २०१६ सालमै स्थापित भक्तपुरकै पुरानो क्याम्पस हो। यसबाहेक यहाँ सानोठिमीमा रहेको शिक्षा संकायको सानोठिमी बहुमुखी क्याम्पसमा पनि भोलि स्ववियु निर्वाचन हुने छ। 

प्रकाशित: ४ चैत्र २०७९ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App