१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले विश्वासको मत पाएपछि सरकारमा जान्छौँ: काँग्रेस नेता केसी

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिइने बताएका छन्। 

नेपाली काँग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भन्ने विषयमा पार्टीमा छलफल नै नभएको भन्दै उनले प्रधानमन्त्रीले विश्वासको मत पाएपछि काँग्रेस सरकारमा सहभागी हुने बताए।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य केसीले गठबन्धन सरकारमा जाँदा साझा प्रतिवद्धताहरु ल्याउनु पर्ने बताएका हुन्। 

बेरोजगारी, दण्डहीनता र भ्रष्टाचारले मुलुकको आर्थिक अवस्थालाई कमजोर बनाएको भन्दै उनले त्यसका विरुद्ध सबै एक भएर लड्नु पर्नेमा जोड दिए। ‘मुलुकको व्यापार घाटा बढिरहेको छ,दातृ निकायको ऋणमा सरकार चलेको छ, बेरोजगारी समस्या बढ्दो छ, दण्डहीनताले मुलुकलाई थप समस्यामा पारेको छ यस्तो अवस्थामा सरकार, राजनीतिक दल सबै गम्भीर हुनु पर्छ’ पुर्वमन्त्री समेत रहेका केसीले भने। बैंक ब्याजदर, लघुवित्त जस्ता क्षेत्रमा देखिएका समस्या समाधान गर्दै चालु खर्च घटाउने तर्फ विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ।

नयाँ गठबन्धनबाट न्यूनतम साझा कार्यक्रम कस्तो आउला भनेर जनताले पर्खेको भन्दै उनले अर्थतन्त्र सुधारका साझा कार्यक्रम ल्याउनु पर्ने बताए। नेता केसीले गठबन्धनका नाममा सत्ता टिकाउनकै लागि उपप्रधानमन्त्रीको हुल बनाउने पारीपाटी बसालिएको र त्यो गलत भएको टिप्पणी गरे। संविधानले धेरै कुराको सीमाबद्ध गरिदिएको भए पनि जुन ढंगले उप-प्रधानमन्त्रीको हुल बनाउने गरिएको छ त्यो गलत छ’ प्रतिनिधि सभा सदस्य समेत रहेका नेता केसीले भने।

संविधानमा रहेका अस्पष्ट व्यवस्थालाई परिवर्तन र निर्वाचन पद्धतिमा पनि बहस गर्नु पर्ने अवस्था आएको उनले बताए। राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा फरक लिंग वा समुदाय भनेर संविधानमै अस्पष्टता हुँदा दुवै पदमा पुरुष बन्नकालागि बाटो खोलिदिएको बताए। 

त्यस्तै अहिलेको समानुपातिक प्रणालीले जनतासँग सरोकार नभएका र नेतृत्व वरपरका मन्छेले अवसर पाएको उल्लेख गर्दै प्रतिस्पर्धात्मक समानुपातिक व्यवस्था ल्याउन सकिने बताए। राष्ट्रिय सभामा समानुपातिक प्रणाली व्यवस्था गर्न सकिने धारणा राखे।

प्रकाशित: ४ चैत्र २०७९ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App