१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनतालाई स्वच्छ खानेपानी पुर्‍याउने हाम्रो नैतिक जिम्मेवारी हो: मन्त्री खान

पत्रकार भेटघाटमा बोल्दै खानेपानी मन्त्री अब्दुल खान। तस्बिरः अर्जुन ओली/नागरिक

खानेपानी मन्त्री अब्दुल खानले जनतालाई स्वच्छ खानेपानी पुर्‍याउने आफ्नो नैतिक जिम्मेवारी रहेको बताएका छन्। 

नेपालगन्जमा शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले नागरिकले स्वच्छ खानेपानी पिउन पाउने अधिकार संविधानमै व्यवस्था भएकाले यसतर्फ सचेत हुँदै मन्त्रालयले अनवरत रुपमा काम गरिरहेको दाबी गरे। 

‘स्वच्छ पानी पिउन पाउनु प्रत्येक नागरिकको हक हो भनेर संविधानमा व्यवस्था छ,’ उनले भने ‘यो जनताको मौलिक हक भएको कारणले गर्दा म यसको लागि अनवरत रुपमा काम गर्दै छु।’ खानेपानी मन्त्रालय अन्तगतका निकायले जनतालाई कुनै पनि अप्ठ्यारो नपारी, राजनीतिकरण नगरी घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु कर्तव्य भएको बताए। 

देशका खोला नालाबाट विभिन्न ‘मिनरल युक्त’ स्वच्छ पानी बगिरहेको भन्दै त्यसलाई बजारीकरण गर्न सकेको खण्डमा बाहिरका देशमा पुर्‍याउन सकिने र देशको आर्थिक समृद्धिमा पानीले योगदान दिन सक्ने मन्त्री खानको धारणा छ। ‘हाम्रो देशभित्र यति धेरै नदी र झरनाबाट पानी बगिरहेको छ, केही गर्न नसके पनि खाडी मुलुकमा मात्रै नेपालको पानी निर्यात गर्न सक्यौ भने हाम्रो देशको हितमा धेरै ठुलो योगदान हुन सक्छ,’ उनले भने। 

आफू एक/डेढ वर्ष मात्रै मन्त्रालयमा बस्न पाएमा काठमाडौं उपत्यकामा पानीको अभाव अन्त्य गर्ने दाबी गरे। यस्तै दुई देखी तीन वर्ष बस्न पाएमा तराई मधेसका सम्पूर्ण जिल्लामा आर्सिनिक न्यूनीकरण गरेर स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य रहेको बताए। 

अगाडी उनले भने, ‘यदि म मन्त्रालयमा चार वर्ष बस्न पाए भने पहाड र हिमालका जनतालाई म स्वच्छ पानी पुर्‍याउँछु, यदि म मन्त्रालयमा पाँच वर्ष बस्न पाए भने देशको पानी विदेशमा निर्यात गर्ने मेरो योजना छ।’ 

यसका लागि विभिन्न निकाय, अन्तर्राष्ट्रिय स्तरका दातृ संस्थासँग एक चरणमा परामर्श गरिसकेको बताए। सन् २०३० सम्म नेपालमा स्वच्छ खानेपानी जनताको घर–घरमा पुर्‍याउने अन्तर्राष्ट्रिय स्तरमा गरेको हस्ताक्षर अनुसार काम गर्ने प्रतिबद्धता जनाए। जनमत पार्टीका युवा नेता तेजनारायण कँडेलका अनुसार नेपालगन्ज आइपुगेका मन्त्री खान विभिन्न कार्यक्रममा व्यस्त भएका छन्। 

प्रकाशित: ४ चैत्र २०७९ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App