तीस वर्षे सेवा अवधिका कारण प्रहरीका अधिकृतहरु डिआइजी र एआइजी पदहरुमा पुरा अवधि कामनै नगरी आइजिपी बनाउनुपर्ने अवस्था आएपछि सरकारले विध्यमान प्रहरी नियमावली २०७१ संशोधन प्रस्ताव तयार गरेको छ।
प्रहरी नियमावली २०७१ को दफा १२७ अनुसार आइजिपीको पदावधि ४ वर्ष उल्लेख गरिएको छ। तर त्यसलाई संशोधन गर्नुपर्ने भन्दै नयाँ प्रस्तावमा आइजिपीको पदावधि ४ वर्षबाट १ वर्ष घटाउँदै ३ वर्ष हुनुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै अहिले कामय रहेको आइजिपीको उमेरहद ५८ वर्ष भने यथावत् हुनुपर्ने उल्लेख गरेर संशोधन प्रस्ताव तयार गरिएको छ।
सो प्रस्तावमा एआइजीको उमेर र पदावधि थपघट हुनुपर्ने उल्लेख गरिएको छ। प्रहरी नियमावली अनुसार अहिले एआइजीको उमेर ५६ र पदावधि ५ वर्षको हुन्छ।
तर प्रस्तावमा एआइजीको उमेर हद १ वर्ष बढाउँदै ५७ वर्ष हुनुपर्ने उल्लेख गरिएको छ। ५ वर्षे अवधिलाई भने १ वर्ष घटाउँदै ४ वर्षमा झार्नुपर्ने उल्लेख गरिएको छ। प्रहरी नियमावलीले एआइजी र डिआइजीको पदावधि (५ वर्ष) र उमेरहद (५६ वर्ष) एउटै कायम गरेको छ।
तर संशोधित प्रस्तावमा भने एआइजी र डिआइजीको पदावधि र उमेरहद फरकफरक राखिएको छ। डिआइजी, एसएसपी र एसपीको उमेरहद ५६ वर्ष र पदावधिमा डिआइजीको ५ वर्ष र एसएसपीको ६ वर्ष राख्ने प्रस्ताव गरिएको छ। एसपीको पदावधि भने १० वर्षलाई नै यथावत् राख्ने प्रस्ताव गरिएको छ। कार्यालय सहयोगीको यसअघिको ५५ वर्ष उमेरहदलाई भने जस्ताको त्यस्तै राखिएको छ।
नेपाल प्रहरीमा ३० वर्षे सेवावधि कायम रहँदा डिआइजी भएको १० महिनामै आइजिपी हुने अवस्था आएपछि संशोधन प्रस्ताव तयार गरिएको हो । पछिल्लो समय एआइजीमा बढुवा भएका पा“च जना डिआइजीको अवस्था यस्तै छ। यी पा“चमध्येबाटै एक जना आइजिपी हुदैछन्।
जुनसुकै अधिकृत आइजिपी भएपनि उनीहरुले डिआइजी र एआइजीको कार्यकाल पुरा गरेका छैनन। डिआइजी र एआइजीको अनुभवनै नभएका अधिकृतले सम्हालेको संगठन कसरी प्रभावकारी हुन्छ? यो एउटा गम्भिर प्रश्न भएको छ?
तीस वर्षिय सेवावधिको यो हद कायम रहे अहिले डिआइजीबाट एआइजीमा बढुवाका लागि सिफारिस भएका मध्येबाट एकजना आइजिपी हुने छन्। यसले गर्दा तहगत रूपमा पूरा कार्यकाल बिताउन नपाउँदै संगठनको माथिल्लो पदमा उक्लिने अवस्था सिर्जना भएको छ।
डिआइजी भएपछि उनीहरूले क्षेत्र र विभागको समेत काम गर्न र अनभुव लिन पाएका छैनन्। सरकारको उपस्थिति देखाउने र जनताको शान्तिसुरक्षा तथा दैनिक जीवनसँग जोडिने नेपाल प्रहरीको आइजिपी सुरक्षा, संगठन परिचालन, प्रशासनिक काम र नीति निर्माणको ज्ञाता तथा व्यवस्थापनमा समेत अब्बल र अनुभवी हुन आवश्यक छ। इलाका प्रहरी कार्यालयको इन्चार्जदेखि कमान्ड गर्दै र क्षेत्र र विभागको कमान्ड गरेपछि मात्रै आइजिपीका लागि योग्य मानिन्छ।
यसअघि डिआइजीबाट एआइजी भएकाहरूमा त्यस्तो कमान्ड नगरेका भएकैले कतिपय सन्दर्भमा प्रहरी संगठनमा चेनअफ कमान्डमा समेत असर परेको थियो। अहिले एआइजीमा बढुवा सिफारिस भएका डिआइजी भएको १० महिना मात्रै भएको छ। जब कि डिआइजीको सेवावधि पाँच वर्षको हुन्छ। त्यसपछि एआइजीमा बढुवा हुने र एआइजीमा अनुभव लिएपछि मात्रै आइजिपीमा बढुवा हुनुपर्ने भए पनि प्रहरी नियमावलीमा रहेको बाध्यकारी ३० वर्षे सेवावधिका कारण अनुभव नै हासिल नगरी आइजिपी हुनुपर्ने अवस्था सिर्जना भएको छ।
३० वर्षे सेवावधि कायम रहे अहिले एआइजीमा बढुवा सिफारिस भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्यमध्येबाट एक आइजिपी हुनेछन्। प्रहरीमा नेतृत्व अभाव देखिएको र अर्को पटक आइजिपीमा बढुवा गर्दा एसएसपीबाट सिधै गर्नुपर्ने अवस्था आउने भयले सरकारले विद्यमान प्रावधान प्रहरी नियमावली हेरफेर गरी ३० वर्षे सेवावधि हटाएर अहिलेकै नेतृत्वलाई निरन्तरता दिनेगरी छलफल अघि बढाएको छ।
प्रकाशित: १ चैत्र २०७९ ०८:४२ बुधबार