८ वैशाख २०८१ शनिबार
राजनीति

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

शाक्यलाई अघि सारेको एमालेद्वारा गठबन्धन उम्मेदवार रामसहायविरुद्ध उजुरी

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चारजनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले शनिबार बिहान ९ देखि दिउँसो २ बजेसम्म निर्धारण गरेको समयभित्र चार नेताको उम्मेदवारी परेको हो। आठ दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का दुई नेताले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका हुन्। जसपाबाट संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवले उम्मेदवारी दर्ता गराएका हुन्। गठबन्धनमै रहेको जनमत पार्टीले पनि ममता झालाई मैदानमा उतारेको छ भने एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ।

उपराष्ट्रपतिको उम्मेदवारी दर्ताअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले निर्वाचन आयोगले संवैधानिक सीमा र व्यवस्थाविपरीत धारा ७० को व्याख्या गरेको निष्कर्ष निकालेको छ। आयोगले दलीय स्वार्थ पूरा गर्न संविधानको आवश्यकताभन्दा बढी व्याख्या गर्न खोजेको भन्दै जसपालाई विकल्पसहित प्रस्तुत हुन सुझाएको बैठकमा सहभागी एक नेताको दाबी छ। पूर्वसहमति अनुसार जसपा उम्मेदवारलाई नै उपराष्ट्रपतिमा मतदान गर्ने गठबन्धनमा समझदारी भएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए। ‘उपराष्ट्रपति जसपाबाट नै हुने हो,’ ती पदाधिकारीले भने, ‘तर निर्वाचन आयोगले संविधान मिचेर दलीय स्वार्थ पूरा गर्ने संकेत गरेकाले विकल्प प्रस्तुत गरेका हौं।’

निर्वाचन आयोगले संविधानको धारा ७० को अपव्याख्या गर्ने प्रयास गरेको भन्दै ती नेताले भने, ‘कुनै दलको स्वार्थमा कसैलाई रोक्न संवैधानिक अंगले संविधानको व्याख्या गर्ने होइन, सुझावसम्म दिने हो। तर आयोगले संविधानको व्याख्या गर्ने जुन प्रयास गरेको छ, त्यसलाई हामीले गम्भीरतापूर्वक हेरिरहेका छौं।’

निर्वाचन आयोगले नयाँ गठबन्धनका तर्फबाट दर्ता भएको उम्मेदवारी रद्द गर्न सक्ने विभिन्न सूचनाका आधारमा विकल्पहरू प्रस्तुत गरिएको ती नेताको दाबी छ। ‘उपराष्ट्रपतिमा गठबन्धनका तर्फबाट साझा र एउटै उम्मेदवार हुन्छ,’ माओवादी केन्द्रका ती पदाधिकारीले दाबी गरे। निर्वाचन आयोगले राष्ट्रपतिमा खस–आर्यबाट पुरुष निर्वाचित भइसकेको जनाउँदै उपराष्ट्रपति फरक लिंग वा महिला नै हुनुपर्ने धारणा शुक्रबार सार्वजनिक गरेको थियो।

तर गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ। रामसहायप्रसादको प्रस्तावकमा जसपाका अशोककुमार राई, प्रदीप यादव, नेकपा एकीकृत समाजवादी (नेकपा एस) का किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी छन्। त्यस्तै समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, नेकपा एसका प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी छन्। निर्वाचन आयोगको शुक्रबारको निर्णयलाई मध्यनजर गर्दै जसपाले प्रमिलालाई पनि मैदान उतारेको हो।

प्रमिलाको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन्। समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनीष सुमन छन्। उपराष्ट्रपतिको उम्मेदवारी दिएकी जसपा नेत्री प्रमिलाले आफूआबद्ध पार्टी जसपाले आइतबार मात्र उम्मेदवारको अन्तिम टुंगो लगाउने जनाएकी छन्। ‘मेरो उम्मेदवारी चुनावसम्मकै लागि हो,’ उनले भनिन्, ‘हामी दुवैजनाको इच्छा भयो, त्यसैले दुवैको उम्मेदवारी पर्‍यो। पार्टीले भोलि (आइतबार) गर्ने निर्णयलाई हामी स्वीकार गर्छौं।’

फागुन १२ गते निर्माण भएको आठ दलीय गठबन्धनमै रहेको जनमत पार्टीले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएको छ। प्रतिनिधिसभामा पहिलोपटक प्रतिनिधित्व गरेको जनमतले ममता झालाई मैदानमा उतारेको छ। उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का गंगाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव छन्। त्यस्तै समर्थकमा गोमालाम सापकोटा, विनीताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन्।

जनमत पार्टी अध्यक्ष चन्द्रकान्त (सिके) राउतले आफ्नो पार्टीबाट उपराष्ट्रपति पदमा परेको उम्मेदवारी फिर्ता नहुने बताएका छन्। गठबन्धनमा भएको छलफलअनुसार नै उम्मेदवारी दिएको दाबी गर्दै उनले पत्रकारहरूसँग भने, ‘हामी अधिकारको लडाइँमा छौं। यदि गठबन्धनमा समर्थन भएन भने पनि हाम्रो उम्मेदवारी फिर्ता हुँदैन।’

एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिमा अघि सारेको छ। राष्ट्रपतिमा अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध खडा गरेको थियो। फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ पराजित भएका थिए। चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा एमालेले उपाध्यक्षसमेत रहेकी नेत्री शाक्यलाई प्रस्तुत गरेको हो। उनको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष नेम्वाङका साथै छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ छन्। त्यस्तै समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन्।

प्रतिनिधिसभा विघटन गर्ने ओली नेतृत्व सरकार तत्कालीन निर्णयविरुद्ध शाक्य त्यतिबेला खरो रूपमा प्रस्तुत भएकी थिइन्। आफ्ना कुरा स्पष्ट राख्ने नेत्री शाक्य २०७४ मा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि वाग्मती प्रदेश सरकारको मुख्यमन्त्री बन्ने चाहना राखेकी थिइन्। तर अध्यक्ष ओलीसहितका नेताहरू शाक्यको विपक्षमा उभिँदा वाग्मती प्रदेश संसदीय दलको नेतामा नै उनी पराजित हुन पुगेको निकटहरू बताउँछन्। एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेकपा विभाजनपछि केही शाक्य वाग्मती प्रदेशको केही दिन मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेकी थिइन्।

यसैबीच रामसहायप्रसादको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै एमाले महेश बर्तौलाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेका छन्। राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो। राष्ट्रपतिमा खस–आर्य पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुषबाहेकको मात्रै उम्मेदवार हुन सक्ने भन्दै राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष हुन नसक्ने दाबी गरिएको छ। यद्यपि संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समुदायको हुने व्यवस्था गरेको छ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था गरेको जनाउँदै नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले खस–आर्य पुरुषबाहेक उपराष्ट्रपतिमा जसले पनि उम्मेदवारी दिन पाउने बताए। ‘संविधानमा स्पष्ट भएको व्यवस्थामा बढी व्याख्या गरेर जटिल बनाउने काम कसैले पनि गर्नु हुँदैन,’ उनले भने, ‘संविधानको बर्खिलापमा जाने अधिकार कसैलाई पनि छैन।’ जनमत पार्टीले पनि एमालेले जस्तै दाबी गर्दै रामसहायप्रसादको उम्मेदवारी खारेजीको माग गरेको छ। आइतबार मध्याह्नसम्म ती दुवै उजुरीउपर आयोगले निर्णय लिनेछ।

प्रकाशित: २८ फाल्गुन २०७९ ००:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App