८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रपति निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

बिहीवार हुने राष्ट्रपति निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिहीवार राष्ट्रपतिको लागि निर्वाचन हुँदैछ। राष्ट्रपति निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता भएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, २०७९ निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक हुने सम्पूर्ण तयारी पूरा भएको बताए। उनले प्रदेश सभातर्फ ५५० जना र संघीय संसदतर्फ ३३२ जनाको मतदाता नामावली रहेको जानकारी दिँदै मतदानका लागि संघीय संसद भवनको ल्होत्से हलमा दुईवटा मतदान केन्द्र स्थापना गरिएको जनाए। 

ल्होत्से हल भित्रका दुई मतदान केन्द्रमा संघीय सांसद र प्रदेश सांसदहरुले छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए। संघ र प्रदेशका सांसदहरुको छुट्टाछुट्टै लाइन हुने पनि उनले जानकारी दिए। उनले मतदान बिहान १० बजेदेखि सुरु भइ ३ बजेसम्म हुने भन्दै ३ बजेपछि लामवद्ध हुन आउने मतदातालाई मतदानका लागि प्रवेश निषेध गरिने स्पष्ट पारे।

निर्वाचन अधिकृत पौडेलले मतदानका लागि लाइन बस्नुअघि संघीय सांसद र प्रदेश सांसदहरुलाई छुट्टाछुट्टै ‘वेटिङ रुम’ बनाइएको पनि जानकारी गराए।

त्यस्तै मिडियाका लागि पनि ‘वेटिङ रुम’ को व्यवस्था गरिएको उनले उल्लेख गरे। उनले अपरान्ह ४ बजेदेखि मतगणनाको कार्य सुरु गरेर साँझ ७ बजेसम्म गणना सकिसक्ने लक्ष्य रहेको बताए। मत गणना सकिएसँगै ल्होत्से हलमै आएर मत परिणामको घोषणा गरिने निर्वाचन अधिकृत पौडेलले जानकारी दिए।

प्रकाशित: २४ फाल्गुन २०७९ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App