८ वैशाख २०८१ शनिबार
राजनीति

गठबन्धन भत्किन्छ भनेर धेरै चकचक नगर्न एमालेलाई गगन थापाको चेतावनी

फाइल तस्बिर

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन भत्किन्छ भनेर धेरै चकचक नगर्न एमालेलाई चेतावनी दिएका छन्।

‘एमालेले गठबन्धन भत्किन्छ भनेर धेरै चकचक नगरे हुन्छ। यो गठबन्धन पाँच बर्षै टिक्छ,टिकाउँछौ’, उनले भने।  

राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज यहाँ संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा महामन्त्री थापाले गठबन्धन मजबुद हुने कुरामा दलहरु मात्र आशावादी भएर नहुने र जनतामा पनि आशा जगाउन सक्नुपर्ने बताए। 

‘यसका लागि पाँच बर्ष होइन, पाँच महिनामै जनतामा आशा जगाउने गरी काम गर्नुपर्छ’, उनले भने।  थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताए।  

उनले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट गरे। 'आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो', उनले भने। कांग्रेस संविधान कार्यान्वयन र जनतामा परिवर्तनको आभाष दिन प्रतिबद्ध रहेको भन्दै उनले गठबन्धनलाई पाँच वर्ष काम नगर्ने छुट नभएको बताए। महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको बताए।

पौडेल गणतन्त्र स्थापना, लोकतन्त्र र संविधानका लागि लडेको निष्ठावान व्यक्ति भएको भन्दै उनले राष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने बताए। उनले उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् बिस्तारको काम अघि बढ्ने समेत बताए।  

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पदको लोभ नगरी संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनलाई समर्थन गरेको उनको भनाइ छ। बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन आठ दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए।  

उनले नयाँ गठबन्धनले जनतामा सकारात्मक छाप समेत परेको समेत दाबी गरे। राष्ट्रपति पदका उम्मेदवार पौडेल लोकतान्त्रिक आन्दोलनको अगुवा हुनुका साथै निष्ठावान व्यक्ति भएको तथा सबै हिसाबले योग्य नेता भएकाले उहाँलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताए। नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले प्रजातन्त्र, लोकतन्त्रको रक्षाका लागि लड्ेका रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गर्नु नै गठबन्धनको मर्म र भावना भएको बताए।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति पदका उम्मेदवार पौडेललाई अहिले दश दलको समर्थन प्राप्त भएको बताए। 'प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका नेता पौडेललाई दश दलको समर्थन छ, उहाँलाई निर्वाचित गर्नुको विकल्प छैन।' 

प्रकाशित: १९ फाल्गुन २०७९ ११:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App