१६ चैत्र २०८० शुक्रबार
राजनीति

निकुञ्जले स्थानीय तहसँग मिलेर काम गर्नुपर्छ: मुख्यमन्त्री जम्कट्टेल

हात्तीको आक्रमणबाट २३ वर्षमा ३२२ मानिसको मृत्यु

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राष्ट्रिय निकुञ्जले स्थानीय तहसँग मिलेर काम गर्नु जरुरी रहेको सुझाव दिएका छन्।

जिल्ला समन्वय समिति मकवानपुर एवम् डिभिजन वन कार्यालय मकवानपुर र राप्तीले बिहीबार हेटौंडामा आयोजना गरेको मानव वन्यजन्तु द्वन्द्व एवम् वन डँडेलो न्यूनीकरण सम्बन्धी अन्तरक्रियामा उनले निकुञ्ज र सर्वसाधारणको बीचमा राम्रो सम्बन्ध हुन नसक्नु दुःखद भएको धारणा राखे।

जनप्रतिनिधिको अनुरोधलाई निकुञ्जका कर्मचारीले अटेर गर्ने गरेको गुनासो आएको भन्दै उनले स्थानीय तहसँग समन्वय गरी काम गर्न अनुरोध गरेका हुन्।

‘वन्यजन्तुले बाँच्नको निम्ति सङ्घर्ष गर्ने क्रममा मानिससँग द्वन्द्व भएको पाइएको छ। वन्यजन्तुलाई लघार्न खोज्दा थप दुर्घटना भएको देखिन्छ’, मुख्यमन्त्री जम्कट्टेलले भने, ‘विना कारण जनावरले मान्छे मारिहाल्दैन। जनावरलाई निकास दिन जरुरी छ।’

वन फँडानी, आहाराको अभाव लगायतका कारणले वन्यजन्तु बाँच्नकै लागि गाउँवस्तीमा छिर्ने गरेको जम्कट्टेलको दाबी थियो। यस्तै गर्मी मौसम बढेसँगै डँडेलोको समस्या सुरु हुने भन्दै उनले यसका लागि जनचेतना आवश्यक रहेकोमा जोड दिए।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले वन्यजन्तुको संरक्षण गर्दै मानवीय क्षति रोक्नतर्फ लाग्नुपर्ने धारणा राखे।

समन्वय समितिका उपप्रमुख सानुकाजी लुइँटेलले वन्यजन्तु नियन्त्रण, समन्वय लगायतका विषयमा कर्मचारीले जनप्रतिनिधिको कुरा नमान्ने गरेको धारणा राखे। मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले प्रशासनले वन्यजन्तुको संरक्षणसँगै धनजनको क्षति हुन नदिन लागिपरेको बताए।

हात्तीको आक्रमणबाट २३ वर्षमा ३२२ मानिसको मृत्यु

२३ वर्षको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट ३२२ जनाको मृत्यु भएको छ। पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अशोक रामका अनुसार हात्तीको आक्रमणबाट २३ वर्षको अवधिमा ३२२ जनाले ज्यान गुमाएका हुन्। हात्तीले विशेष गरी अशोक कात्तिक महिनामा बढी मानिस मारेको उनले दाबी गरे।

यस्तै २० वर्षको अवधिमा ४७ वटा हात्ती मारिएको उनले जानकारी दिए। समान स्रोतको प्रयोगका कारण वन्यजन्तु र मानिसको बीचमा द्वन्द्व बढेको उनको भनाई थियो।

‘हात्ती प्रायः समूहमा हिँड्छ, समूहबाट छुट्यो भने छुद्र र बदमास हुने गरेको छ’, संरक्षण अधिकृत रामले भने, ‘हाल नेपालमा २२७ वटा हात्ती रहेको छ। नेपाललाई वासस्थानको रूपमा प्रयोग गर्न छिमेकी मुलुकबाट समेत हात्ती आउने गरेको छ।’

पछिल्लो समय मकवानपुर लगायतका स्थानमा हात्तीको आक्रमणबाट मानिसको मृत्यु भएको प्रसङ्गमा उनले हात्तीलाई जिस्काएको र खेदेको कारण दुःखद घटना भएको प्रतिक्रिया दिए। झापाबाट ५ वटा हात्ती आएकोमा दुई वटा फर्केको र तीनवटा भने मकवानपुर, पर्सा, सिन्धुली लगायतको क्षेत्रमा रहेको उनले जानकारी दिए।

प्रकाशित: १८ फाल्गुन २०७९ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App