१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

उपराष्ट्रपतिमा रामसहाय छान्दै उपेन्द्र

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुबटारमा भएको आठ दलीय सहमतिमा जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पद पाउने भए पछि पार्टीभित्र उपराष्ट्रपतिको सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भएको छ।

तर, जसपाका धेरै नेताहरूले उपराष्ट्रपतिमा रासहाय यादवको सम्भावना निकै बलियो रहेको बताएका छन्। जसपा स्रोतका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव रामसहायलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउन चाहेका छन्। जसपाका एक नेताले भने,‘अध्यक्ष ज्युकोलागि उहाँ (रामसहाय) सबैभन्दा उपयुक्त व्यक्ति हो। त्यसैले उहाँको करिब करिब टुंगो लागेको अवस्था छ।’ रामसहाय अध्यक्ष यादवसँग निकट मानिन्छन्। यही निकटताको कारण अध्यक्ष यादवले रामसहायलाई जसपाको संसदीय दलको नेता समेत बनाएका छन्। जबकी, यादव पछि अशोक राई जसपाका दोस्रो नेता मानिन्छन् तर अध्यक्ष यादवले राइलाई पन्छयार रामसहायलाई संसदीय दलको नेता बनाए।  

जसपाका प्रवक्ता मनिष सुमनले पनि उपराष्ट्रपतिको उम्मेदवारमा रामसहाय यादवकै बढी सम्भावना रहेको बताए। ‘अहिले नै टुंगो लागेको त छैन तर बढी सम्भावना रामसहाय यादवकै छ,’ उनले भने। रामसहायलाई उपराष्ट्रपति बनाई रिक्त रहेको बारा २मा अध्यक्ष यादव आफै प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन चाहेका छन्। ‘यसबाट संसद्मा उपेन्द्र यादवको पुन प्रवेश हुनेछ,’ जसपाका एक नेताले भने, ‘पार्टी अध्यक्ष ज्युको चाहना पनि त्यही हो।’ यादव प्रतिनिधि सभामा विजयी भएमा उनी सरकारमा सहभागी हुनेछन। त्यो बेला उनी कम्तीमा उपप्रधानमन्त्री हुने ती नेताको अनुमान छ। गत प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी–२ मा उनले उम्मेदवारी दिएका थिए। त्यस क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउत विजयी भएपछि यादव संसद्मा प्रवेश गर्न पाएका छैनन्।  

जसपाले उपराष्ट्रपति पद पाउने निश्चित भएपछि जसपाका अर्का सांसद नवल किशोर साहले पनि उम्मेदवारी दिन देखाएका छन्। जसपाका अर्का एक नेताले भने, ‘तर अध्यक्ष ज्युको चाहना बारा २बाट उपनिर्वाचनमा उम्मेदवारी दिने देखिएको छ। बारा २ चुनाव लड्न अध्यक्षज्यूले बढी सुरक्षित देख्नु भएको छ।’ यसअघि यादवले उपराष्ट्रपति पदमा विशेष चासो देखाउँदै आएका थिए। पछिल्लो समय उनले नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत प्रमुख दलका शिर्ष नेताहरूसँग छलफल थिए।  

नेपालको संविधानले नै राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग र समुदायको हुनुपर्ने भनी स्पष्ट भनेको छ। ‘संविधानमा नै गरिएको यस व्यवस्थाले पनि उपराष्ट्रपति जसपालाई दिन प्रमुख दलहरू तयार भएका हुन्,’ स्रोत भन्छ। पछिल्लो समय यादव एमाले–माओवादी केन्द्र नेतृत्वको गठबन्धनसँग असन्तुष्ट थिए। यही असन्तुष्टिको कारण उनले जसपाबाट कसैलाई सरकारमा पठाएका थिएनन्। शक्ति बाँडफाँटमा एमाले अध्यक्ष केपी शर्मा ओली तथा प्रधानमन्त्रीले जसपालाई पूरै बेवास्ता गरेको यादवनिकट नेताहरूको भनाइ छ। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा अन्तिम समयमा यादवले तत्कालीन पाँच दलीय गठबन्धनबाट बाहिरिए र एमालेसँग सहकार्य गरेका थिए। एमालेसँगको सहकार्यबाट जसपालाई फाइदा नभएको, उल्टै एमालेले फाइदा उठाएका निष्कर्ष जसपाका नेताहरूले निकालेका छन्। पछिल्लो समय एमाले र माओवादी केन्द्रबीचको सम्बन्धमा खटपट हुन थालेपछि यादव एमालेसँग टाढिँदै गएका थिए।

प्रकाशित: १४ फाल्गुन २०७९ ०१:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App