coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विसंगतिविरुद्ध संसदमा आवाज

फाइल तस्बिर।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले विकृति र विसंगतिका विरुद्धमा आफ्नो धारणा राखेका छन्। बैठकमा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले लघुबित्तबाट ऋण लिएकाहरूको समस्या समाधानका लागि राष्ट्र बैंकले तत्काल केही कदम चाल्नुपर्ने बताए। लघुवित्त संस्थाले गर्दा गरिबहरू मारमा परेको उनको भनाइ थियो।  

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालको स्वास्थ्य बिमाको मोडल गलत भएकाले नेपालको स्वास्थ्य बिमा प्रणाली बन्द हुने अवस्थामा पुगेको बताइन्। सुरु भएको ५ वर्षमै र ५० प्रतिशत नागरिकमा पनि नपुग्दै स्वास्थ्य बिमा कार्यक्रम बन्द हुने अवस्थामा पुग्नु चिन्तको विषय भएको उनको भनाइ थियो। अर्बपति र गरिबले एउटै शुल्क तिर्नुपर्ने बिमाको मोडल गलत भएको भन्दै उनले भनिन्, ‘वैज्ञानिक ढंगले स्वास्थ्य बिमा शुल्क तोकिनुपर्छ।’ स्वास्थ्य बिमा जुन अस्पतालमा तोकिएको छ, त्यसमा मात्र सेवा पाउने व्यवस्थाले पनि यो प्रभावकारी हुन नसकेको भन्दै सांसद कार्कीले बिमा गरेपछि जुनसुकै अस्पतालमा पनि सेवा पाउने व्यवस्था हुनुपर्ने बताइन्।

नेकपा एमालेका नेता रघुजी पन्तले भारतीय विदेश सचिव नेपाल आउँदा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीलाई भेटेको विषयको आलोचना गरे। कसैको गुलामी नबोकेको आजसम्म स्वतन्त्र रहेको, कहिले पनि पराधिन नरहेको यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्विटमा हेर्नुपर्ने अवस्था आएको पनि उनले बताए।  

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ‘नेपाल बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग’को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरिन्। सांसद श्रेष्ठले नेपाल ललितकला प्रतिष्ठानको २९ रोपनी जग्गा समेत दुरूपयोग गर्ने काम भईरहेको भन्दै त्यसमाथि निगरानी राख्न पनि सरकारलाई आग्रह गरिन्।  

नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरे।  

कांग्रेसका सांसद शंकर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरे। ‘कृषिमा अनुदान नदिनाले हाम्रा उत्पादन महंगा छन्। केही मात्रा दिइएको कृषि अनुदान पनि वास्तविक किसानले पाउन मुस्किल छ,’ उनले भने।  

जनता समाजवादी पार्टी (जसपा) की सांसद सुशीला श्रेष्ठले गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाइन्। ‘फागुन ७ गते जुन अभिव्यक्ति आएको छ त्यसमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ भन्दै उनले वर्तमान व्यवस्थाप्रति ठाडो आक्रमण गर्ने प्रबृति निन्दनीय भएको बताइन्।  

राप्रपाका महामन्त्री एवं सांसद् धवलशमशेर राणाले पूर्वराजाले बोलेको कुरालाई अलिकति तोडमोड गरी नकारात्मक बनाइएको बताए। ‘सबै पार्टीहरू र राजसंस्थाले मिलेर यो देशलाई उमो लगाऊँ भन्ने कुरा उहाँले गर्नुभएको हो’ वर्तमान व्यवस्थाप्रति कुनै आपत्तिको कुरा नगरेको भन्दै उनले पूर्वराजाले भनेको कुरा सकारात्मक रूपमा लिनुपर्ने बताए।

प्रकाशित: ११ फाल्गुन २०७९ ००:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App