१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जसपाले माग्यो उपराष्ट्रपति

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति पदमा चासो देखाएका छन्। पछिल्लो समय यादवले कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत प्रमुख दलका शीर्ष नेताहरूसँग त्यसबारे छलफल पनि गरेका छन्। यसैगरी उनले कांग्रेस नेता रामचन्द्र पौडेलसँग पनि भेटघाट गरेका छन्। जसपा कार्यकारिणी समितिका सदस्य तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक पद जसपाले पाउनुपर्छ भन्ने पार्टीको लाइन रहेको बताए। उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा पार्टी सहभागी हुनेछ। यी दुईमध्ये एक पद जसपाले पाउनुपर्छ भन्ने हाम्रो माग हो।’ यादवनिकट एक नेताका अनुसार कम्तीमा उपराष्ट्रपति पद पाउनुपर्ने जसपाको माग हो।  

मुख्य दलका शीर्ष नेताहरूसँग भएको भेटघाटमा यसै विषयमा छलफल केन्द्रित भएको ती नेताले बताए। स्रोतका अनुसार पौडेलसँगको भेटमा यादवले भनेका थिए, ‘राष्ट्रपति पदमा हामी तपाईंलाई सहयोग गर्न तयार छौं तर उपराष्ट्रपति हामीले पाउनुपर्छ।’ यादवले देउवासँग पनि यही अभिव्यक्ति दोहो¥याएका थिए। यसैगरी ओलीसँगको भेटमा पनि यादवले उपराष्ट्रपति पद माग गरेको स्रोतले बतायो। जसपा स्रोतका अनुसार कांग्रेस सभापति देउवा, पौडेल तथा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई उपराष्ट्रपति पद दिने आश्वासन भने दिएका छैनन्। तर यसबारे सम्भावना अन्त्य नभएको पार्टी स्रोतको भनाइ छ। पार्टीका अर्का एक कार्यकारिणी समिति सदस्यले भने, ‘शक्ति बाँडफाँट गर्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा उपसभामुखमध्ये एक पदमा जसपाले दाबी गर्नु स्वाभाविक पनि हो। यसमा दलहरू सहमत हुनुपर्छ।’

राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न यादवले आइतबार पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए। उक्त बैठकमा विधान अधिवेशन तथा राष्ट्रपतिको निर्वाचनबारे छलफल भइरहेको कार्यकारिणी समितिमा सदस्य अधिकारीले बताए। यादवले एमाले–माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनबाट अलग भएको बताएका पनि छैनन् र वर्तमान सरकारमा जसपालाई सहभागी पनि गराएका छैनन्। प्रवक्ता मनीष सुमनले जसपा अहिले कुनै पनि गठबन्धनमा सहभागी नभएको बताए।  

अध्यक्ष यादव एमाले नेतृत्वको वर्तमान सत्तारूढ गठबन्धनसँग असन्तुष्ट रहेको यादव निकट नेताहरू बताउँछन। शक्ति बाँडफाँटमा एमाले अध्यक्ष केपी शर्मा ओली तथा प्रधानमन्त्री पुष्पकमल दाहालले जसपालाई पुरै बेवास्ता गरेको यादवनिकट नेताहरू बताउँछन्। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा अन्तिम समयमा यादवले तत्कालीन पाँच दलीय गठबन्धनबाट बाहिरिएर एमालेसँग सहकार्य गरेका थिए। गत चुनावमा एमालेसँगको सहकार्यबाट जसपालाई फाइदा नभएको उल्टै एमालेले फाइदा उठाएको निष्कर्ष जसपाका नेताहरूले निकालेका छन्।

प्रकाशित: ८ फाल्गुन २०७९ ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App