७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्छः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्ने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्ने उल्लेख गरे।

जारी सन्देशमा निरंकुश राणाशासन अन्त्य भई मानव अधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइने र त्यसपछिको सात दशकभन्दा लामो उतारचढावपूर्ण यात्रामा नेपाली जनताको निरन्तर संघर्षकै प्रतिफलस्वरूप लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख छ।

प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा जीवन गुमाउने ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रदेश प्रमुख गुरुङले आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अंगभंग भएका व्यक्तित्वप्रति सम्मान व्यक्त गरेका छन्।

संघर्षको मार्गदर्शनस्वरूप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अंगीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको प्रदेश प्रमुखले भनेका छन्।

‘संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै हामीले प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरी सुशासन कायम गर्न र हामीले अपेक्षा गरेको समृद्धिको सपना साकार गर्न एकाकार भएर अघि बढ्नु आजको आवश्यकता हो’, सन्देशमा उल्लेख छ। रासस

प्रकाशित: ७ फाल्गुन २०७९ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App