२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

शान्ति र समृद्धि प्राथमिकताः परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल संविधान कार्यान्वयन गर्ने चुनौतीपूर्ण चरणमा प्रवेश गरेको अन्तर्राष्ट्रिय समुदायलाई बताएका छन् । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७१ औं महासभालाई शनिबार राति सम्बोधन गर्दै उनले शान्ति, स्थिरता र समृद्धि नेपालको अन्तिम लक्ष्य रहेको जनाए ।

‘हामी संविधान कार्यन्वयन गर्ने चुनौतीपूर्ण चरणमा प्रवेश गरेका छौं,’ सम्बोधनक्रममा परराष्ट्रमन्त्री तथा राष्ट्रसंघको महासभामा प्रतिनिधित्व गर्ने नेपाली प्रतिनिधिमण्डलका प्रमुख महतले भने, ‘हाम्रो अन्तिम लक्ष्य भनेको राष्ट्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्नु हो ।’

राजनीतिक लक्ष्य प्राप्तिका लागि समावेशी आर्थिक उन्नति र विकास महŒवपूर्ण हुने उनले औंल्याए । यी लक्ष्यप्राप्तिका लागि नयाँ संविधानले खाका प्रदान गरेको उनले जनाए । नेपाल सरकारले सन् २०१८ फेब्रुअरीसम्म तीनवटा निर्वाचन सम्पन्न गर्ने दाबी उनले गरे । ‘यो हाम्रालागि ठूलो कार्य हो, त्यसैले दत्तचित्त भएर लागेका छौं,’ उनले भने ।

शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नु सँगै पुनर्निर्माण, समावेशी समृद्धि तथा विकास सरकारका प्राथमिकताका क्षेत्र रहेको उनले बताए । संविधानको प्रभावकारी कार्यन्वयन र सामाजिक–आर्थिक रुपमान्तरणका लागि अन्तर्राष्ट्रिय सहयोग तथा समर्थन नेपालका लागि अत्यावश्यक हुने उनले प्रष्ट पारे । शान्ति, स्थिर, लोकतान्त्रिक र समृद्ध नेपालको मजबुत जग बसाल्नका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग तथा समर्थन पाउनेमा आफू विश्वस्त रहेको उनले जनाए ।

बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगले स्वतन्त्र र निष्पक्ष ढंगले कार्य सम्पन्न गर्नेमा शंका नगर्न उनले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

‘अन्तर्राष्ट्रिय प्रतिबद्धता र धरातलीय यथार्थलाई बुझेर दिगो शान्ति स्थापना गर्न सरकार उपयुक्त मापदण्ड अपनाई संक्रमणकालीन मुद्दा सम्बोधन गर्न प्रतिबद्ध छ,’ परराष्ट्रमन्त्री महतले भने ।

प्रकाशित: १० आश्विन २०७३ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App