६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपालमा शक्तिराष्ट्रको चासो

सहयोगमा भूराजनीतिक आयाम छैन: पावर

युएसएआइडीकी प्रमुख समान्था पावर। तस्बिर प्रसन गुरु

मुलुकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसँगै नयाँ सरकार गठनपछि दुई छिमेकी मुलुक भारत र चीनको मात्र होइन, शक्ति तथा विकास साझेदार देशहरूको पनि चासो बढेको छ। आफ्नो चासो रक्षाका लागि शक्तिराष्ट्रका अधिकारीहरू नेपाल आउने क्रमले पनि तीव्रता पाएको छ। संविधानसभाबाट २०७२ सालमा नयाँ संविधान निर्माण भएसँगै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै राजनीतिक स्थायित्व र आर्थिक विकासतर्फ नेपाल अघि बढ्ने चरणमा प्रवेश गरेका बेला शक्तिराष्ट्रहरूको चासो पर्न थालेको हो। अघिल्लो प्रतिनिधिसभाले एमसिसी पारित गरेसँगै अमेरिकी चासोमा परेको नेपालमा अमेरिकी उच्च अधिकारीको भ्रमण भइरहेको छ।  

पछिल्लो पटक मंगलबार काठमाडौं आएकी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) प्रमुख समान्था पावर बुधबार स्वदेश फर्केकी छन्। राष्ट्रिय सुरक्षा परिषद्की सदस्य तथा क्याबिनेट तहकी अमेरिकी अधिकारी पावरले काठमाडौंमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्च अधिकारीसँग भेट गरिन्। यसअघि माघ १६ र १७ मा अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा आएकी थिइन्। भ्रमणका क्रममा उनले अमेरिकी चासो स्पष्ट पारेकी थिइन्। धेरै अमेरिकीहरू नेपालमा लगानी गर्न इच्छुक भएकाले लगानीमैत्री वातावरण कसरी बनाउन सकिन्छ भन्नेबारे नेपाली नेता र अधिकारीसँग छलफल गरेकी उनले दुई ठूला छिमेकी मुलुकसँगको भूराजनीतिकभन्दा पनि नेपालले आफ्नो हितका विषयमा सार्वभौम निर्णय गरोस् भन्ने चाहेको बताएकी थिइन्।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा सञ्चालित परियोजनाका विषयमा अमेरिकी अधिकारीहरूको चासो बढेको छ। पावरपछि दुई अमेरिकी उच्च अधिकारी फागुनको पहिलो साता नेपाल आउने तयारीमा रहेको बताइएको छ।

यसैबीच अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघ (इयु) की आयुक्त जुटा उर्पिलाइनेन पनि बुधबार काठमाडौं आइपुगेकी छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग छुट्टाछुट्टै भेटेर नेपालको १५औं विकास योजनालाई सहयोग गर्नेसहितका विषयमा कुरा गरेकी छन्। भेटका क्रममा नेपालमा लगानी, विकास र स्थायित्वको विषयमा पनि छलफल भएको उर्पिलाइनेनले ट्विटरमा लेखेकी छन्।  

त्यस्तै नेपाल भ्रमणका क्रममा संयुक्त अधिराज्य (बेलायत) का रक्षामन्त्री एन्ड्र्यु मोरिसन पनि काठमाडौं आएका छन्। उनले परराष्ट्रमन्त्री पौड्याल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितसँग भेटवार्ता गरेका छन्।

भेटमा गोरखा सेनासहितका विषयमा कुरा भएको जनाइएको छ। मन्त्री पौड्यालले कोभिड १९ महामारीका समयमा बेलायत सरकारले नेपाललाई गरेको सहयोगप्रति धन्यवाद दिएकी छन्।

सहयोगमा भूराजनीतिक आयाम छैन: पावर

युएसएआइडीकी प्रमुख समान्था पावरले नेपालमा अमेरिकाले गर्ने आर्थिकसहितका कुनै पनि सहयोगमा भूराजनीतिक आयाम नरहेको बताएकी छन्। दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्कनुअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘भूराजनीतिक परिवर्तन भैरहन्छ। अमेरिकाले नेपालमा गर्ने लगानीको कुनै भूराजनीतिक आयामको उत्पादन होइन।’ नेपाली जनताको कल्याणका लागि दसकौंदेखि काम गर्दै आएको जनाउँदै पावरले अमेरिका नेपालसँगको मित्रतालाई अगाडि बढाउन चाहेको बताइन्। उनले नेपालमा लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरण, नागरिक समाज र सञ्चारमाध्यमको समर्थन तथा स्थानीय निर्वाचन एवं कानुनी शासनलाई मजबुत बनाउन र मानव बेचबिखनविरुद्ध आर्थिक सहयोग घोषणा गरेकी छन्।

युएसएआइडीले नेपाललाई छ दशकदेखि नै सहयोग गर्दै आएको जनाउँदै पावरले अमेरिका नेपालमा आर्थिक सहयोग गर्ने पहिलो विदेशी मुलुक भएको पनि उल्लेख गरिन्। सार्वजनिक वित्तीय व्यवस्थापन, नागरिक समाज तथा सञ्चारमाध्यम, लोकतान्त्रिक प्रक्रिया÷संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरणको पक्षमा आफूहरू रहेको बताइन्। नेपालमा प्राप्त समावेशी लोकतन्त्रलाई अझ मजबुत बनाउँदै नेपाली जनताको समृद्धिमा युएसएआइडीको सहायता सहयोगी बन्ने विश्वास उनले व्यक्त गरिन्।

पावरले आगामी महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने डेमोक्रेटिक समिटमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आमन्त्रण गरिएको बताइन्। सम्मेलनको अधिकांश कार्यक्रम भर्चुअल्ल हुने जानकारी दिँदै उनले भनिन्, ‘प्रधानमन्त्री दाहालले विगतमा गरेका प्रतिबद्धता र सुधारका वाचा र उहाँको आगामी दिन कानुनी शासन र प्रजातान्त्रिक संस्थाहरूको सशक्तीकरणको योजनाको धारणा राख्ने अवसर हुनेछ।’

प्रकाशित: २६ माघ २०७९ ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App