राष्ट्रिय स्वतन्त्र पार्टीका तीन निवर्तमान मन्त्रीहरूले आज गर्ने भनिएकाे पत्रकार सम्मेलन स्थगित गरिएको छ । आइतबार पदबाट राजीनामा दिएका तीन मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियाे। पार्टीको नियमित काममा व्यस्त भएकोले स्थगित गरिएकाे पार्टी उपसभापति एवं पुर्व श्रम तथा रोजगार मन्त्री डोर प्रसाद अर्याल(डीपी) ले बताए ।
'पार्टीमा अहिले संगठन विस्तारको काम भइरहेको छ । त्यसलाई प्राथमिकता दिएकोले आजको पत्रकार सम्मेलन रोकिएको हो', उनले भने । रास्वपा शनिबारदेखि देशभर संगठन विस्तारको काम लागिरहेकाे छ ।
अब पत्रकार सम्मेलन कहिले हुन्छ भन्नेबारे उनले पछि जानकारी दिने बताए। आजको सम्मेलनमा रास्वपाका मन्त्रीहरुले गरेका प्रगति विवरणबारे जानकारी दिने बताइएको थियो ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले हिजो सरकारबाट हट्ने निर्णय लिदै सरकारबाट हटेकाे छ । सरकारबाट हटेपनि समर्थन भने जारी रहने बताइएकाे छ । त्यसलगत्तै श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।
प्रकाशित: २३ माघ २०७९ ११:५१ सोमबार