७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौँ लगेर धनगढी ल्याइयो

अदालतको फरार सूचिमा रहेका कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुण कुमार चौधरी बिहीबार लुम्बिनी प्रदेश बाँके जिल्लाको बैजनाथपुरबाट पक्राउ परेका छन्।

ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरेका कारण सांसद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। धनगढीबाट ३ घण्टाको सडक दुरीमै रहेको बाँके बैजनाथपुरबाट पक्राउ परेका सांसदलाई सडक मार्गबाट प्रहरीले ल्याउन सकेन्।

सांसद चौधरीको निर्वाचन क्षेत्र रहेको कैलाली क्षेत्र नं २ हुँदै धनगढी ल्याउँदा उत्पन्न हुन सक्ने असुरक्षा र तनावलाई आँकलन गरेर सुरक्षा निकायले हवाईमार्गबाट काठमाडौँ लगेर धनगढी ल्याइएको प्रहरीका एक उच्च अधिकारीले बताए।

बिहीबार दिउँसै पक्राउ गरेपनि उनलाइ साँझ करिब साढे ८ बजे धनगढी ल्याइएको हो। साँझ ७ बजेर २५ मिनेटको श्री ऐयरलाईन्सको जहाजबाट उनलाई धनगढी ल्याइएको थियो। चौधरीलाई कैलालीको हिरासतमा राखिएको प्रहरी अधिकारीले बताएका छन्। उनलाई शुक्रवार अदालतमा उपस्थित गराइने छ।

सांसद चौधरीलाई पक्राउ गरेकोमा नागरिक उन्मुक्ति पार्टीले विज्ञप्ति निकालेर विरोध जनाएको छ भने कैलाली क्षेत्र नम्बर २ मा पक्राउको विरोधमा प्रदर्शन भएको छ।

वि.सं २०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद अरुण कुमार चौधरी सहित परशुराम चौधरी र बिर बहादुर चौधरी गरी तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो।

त्यती बेला ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला भएको थियो। अदालतले फैसला गरेपनि यस अघि तीन जनालाई पक्राउ गरेर क्षतिपूर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन।

अरुण चौधरी वि.सं २०७४ सालमा आगजनी भएको ट्याक्टरका संचालक महादेव बजगाईँसँगै लम्की चुहा नगरपालिको मेयर पदमा निर्वाचन लडेका थिए। मेयरमा उनी पराजित भए। वि.सं २०७४ सालमै उनी कैलाली क्षेत्र नं २ को प्रदेशसभा (ख) बाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचन लडेका थिए। नेकपा माओवादी केन्द्रका नन्द बहादुर साउँदसँग उनी ८ सय ४५ मतले पराजित भएका थिए।

२०७९ मंसिर ४ गते नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडेर उनी सांसद बन्न सफल भएका हुन्।

बुधवार वीर बहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेपछि सांसद चौधरी समेत फरार सूचिमा रहेको कुरा सार्वजनिक भएको हो। पीडित महादेव बजगाईँलाई समेत चौधरी फरार सूचिमा रहेको जानकारी थिएन।

‘अदालतको फरार सूचिमा रहेको मलाई पनि थाहा थिएन। अहिले कुरा सार्वजनिक भएपछि मात्र थाह पाएको हुँ’ उनले भने ‘अदालत तथा कुनै निकायबाट मलाई कुनै पत्र पनि आएको थिएन।’

पहिले कुनै मतलब नगरेको र अहिले पदमा पुगेपछि मात्र खोजनीती सुरु भएको देख्दा अच्चम लागेको उनी बताउँछन्। आफू सँगै मेयरमा चुनाव लड्ने देखि अहिले प्रतिनिधिसभा सदस्यमा चुनाव लडेर जित्ने बेला सम्म प्रहरी र कसैले कुनै वाश्था नभएको उनको भनाई छ।

आफूले हालेको मुद्दाको बारेमा खोजनीती बजगाईँले समेत नगरेकाले उनले फरार प्रतिवादी सँगै मेयर पदमा प्रतिस्पर्धा गर्नुपरेको थियो।

कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा बजगाईँले प्रतिनिधिसभा सदस्य रहेको अरुण चौधरीसहित पर्शराम चौधरी र वीर बहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले वि.सं २०७० बैशाख ९ गते तीन जनालाई जनही ६ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएको थियो। अदालतले फैसला गरेर प्रहरीलाई त्यतीबेला नै पत्र पठाए पनि यस अघि प्रहरीले चासो नदिएकाले उनीहरु पक्राउ परेका थिएनन्।

बिरबहादुरलाई बुधवार पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालले बताएका छन्। वीरबहादुर चौधरीले शुक्रवार मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊ भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए।

जिल्ला अदालतका न्यायधिश डल्लुराम चौधरीको इजलासले उक्त निवेदन अस्वीकार गर्दै ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो। वीर बहादुर चौधरी पक्राउ प्रकरण सँगै यो विषयले चर्चा पाएको थियो।

प्रकाशित: १९ माघ २०७९ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App