coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नालायक सरकारले देशको अर्थतन्त्र ध्वस्त पार्‍यो: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो डेढ वर्ष शासन गरेको नालायक सरकारले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाएका छन्।

बिहीबार देखि विराटनगरमा सुरू भएको सीएनआई कोसी एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले कांग्रेस नेतृत्वको सरकारलाई लक्षित गरी डेढ वर्ष नालायक सरकारले शासन गर्दा देशको अर्थतन्त्र नै ध्वस्त भएको आरोप लगाएका हुन्।

ओलीले नयाँ सरकार गठन भएसँगै अर्थतन्त्रमा सुधार आउने क्रम सुरू भइसकेको दाबी गरे। 

ओलीले भने ‘नयाँ सरकार बनेको डेढ महिनामा नै देशको अर्थतन्त्रमा सुधार आउन थालिसकेको छ।’ परमादेशबाट आएको ग्रहणले डेढ वर्ष सूर्यलाई छोप्यो भन्दैमा आत्महत्या गर्न नहुने भन्दै औलीले आत्महत्याको धेरै चर्चा पनि नगर्न आग्रह गरे।

ओलीले समस्या आयो भन्दैमा आत्महत्याबारे नसोच्न, बाँचुन्जेल हिम्मत नहार्न र संघर्ष गरेर अघि बढ्न उद्योगी व्यवसायीलाई आग्रह गरे।

ओलीले भने ‘समस्या परे सङ्घर्षबाट समाधान खोज्नुस्, आत्महत्या गर्नेतर्फ नसोच्नुस्।’

ओलीले उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तत्पर रहेकाले आफ्ना समस्या लिएर काठमाण्डौं आउन विराटनगरका उद्योगी व्यवसायीलाई आग्रह गरे। उनले उद्योगी व्यवसायीका समस्या सरकारले समाधान गर्ने दाबी पनि गरे।

ओलीले भने ‘समस्याको लिष्ट लिएर काठमाण्डौं आउनुहोस् सरकार तपाईँहरूका समस्या समाधान उधारोमा हैन, नगदा नगदी गर्छ।’ सरकारले आर्थिक अवस्था फर्काउने प्रयास गरिरहेकाले कुराको जुहारी गर्ने वेला नभएको उनले बताए।

‘अहिले कुराको जुहारी गर्नेवाला हैन’ ओलीले भने ‘कुराले च्युरा भिज्दैन।’

उनले उद्योगी व्यवसायीहरूलाई सङ्गठनात्मक प्रतिस्पर्धा नगर्न काममा प्रतिस्पर्धा गर्न आग्रह गरे।

‘नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, चेम्वरर्सअफ कमर्सका नाममा प्रतिस्पर्धा हैन,औद्योगिक घरानाकाबिचमा प्रतिस्पर्धा हैन काममा प्रतिस्पर्धा गर्नुस्’ ओलीले भने ‘उद्योग खोल्न, प्रबिधि भित्राउन, व्यवसाय बढाउन, निर्यात बढाउन प्रतिस्पर्धा गर्नुस्।’

ऋणले ऋण थप्ने भन्दै ओलीले राज्य सञ्चालनका लागि पनि ऋण लिनु पर्ने अवस्थामा देश पुगिसकेको भए पनि सरकारले अर्थतन्त्रलाई चाँडै लयमा ल्याउने प्रयत्न थालिसकेको ओलीले बताए।

नराम्रा दिन पछि अवश्य पनि राम्रा दिन आउने भएकाले समस्या आउँदैमा निराश नहुन निजी क्षेत्रलाई ओलीले आग्रह गरे।

प्रकाशित: १९ माघ २०७९ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App