१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आफ्नै कम्पनीको ठेक्का म्याद थप्न निवेदन

सहरी विकासमन्त्री विक्रम पाण्डे।

सहरी विकासमन्त्री विक्रम पाण्डेले आफ्नो कम्पनीको म्याद थप गर्न आफैंले सम्हालेको मन्त्रालयमा निवेदन दिएका छन्। ३ अर्ब रुपैयाँका दुईवटा सरकारी ठेक्काकोे म्याद थप गर्न पाण्डे मालिक रहेको कालिका कन्स्ट्रक्सन प्रालिले मन्त्रालयमा निवेदन दिएको हो। मन्त्रालय स्रोतका अनुसार कालिकाले धनगढी उपमहानगरपालिकाभित्र सडक निर्माण र वाग्मती सौन्दर्यकरणको काममा म्याद थप गर्न प्रस्ताव गर्दै सहरी विकास तथा भवन निर्माण विभागमा फाइल पठाएको छ।

२०७७ सालमा कालिकाले धनगढी उपमहानगरपालिकाभित्र करिब १० किलोमिटर सडक र नाला बनाउन ७५ करोड रूपैयाँको ठेक्का लिएको थियो। सम्झौताअनुसार गत साउनमै सबै काम सक्नुपथ्र्यो तर अहिलेसम्म धनगढीमा बाटो भत्काउने काम मात्र भइरहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए। ‘अहिले बजार क्षेत्रमा बिजोग छ। जताततै धुलाम्मे छ। नाला छैन। अस्तव्यस्त छ’, हमालले भने।  

हमालले समयमै काम पूरा गर्न पटकपटक सहरी विकास मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक र आयोजना प्रमुखलाई भने पनि सुनुवाइ नभएको बताए। यही कामका लागि आफू धेरैपटक काठमाडौं धाउनुपरेको उनले सुनाए। ‘जनताले मसँग गुनासो गर्छन्। मैले मन्त्रालयलाई भनेको छु। तर काम हँुदैन। यो त अति भयो,’ हमालले भने।

भवन विभाग स्रोतका अनुसार धनगढी सडकको हकमा जेठसम्म म्याद थप गर्न कालिकाले विभागमा प्रस्ताव पठाएको छ।

‘मन्त्रीज्यूकै कम्पनीले निवेदन दिएपछि समयमा काम नभएको विषयमा कारण सोध्ने कुरा नै भएन। उहाँले भनेअनुसार नै म्याद थप हुने निश्चित छ,’ मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘पहुँचवाला ठेकेदार नभएको भए म्याद थप गर्नुपर्नाको कारण र औचित्य सोध्नुपथ्र्यो तर ठेकेदार पहुँचवाल भएपछि सामान्य सोधपुछसमेत हुँदैन।’  

क्षेत्रीय सहरी विकास आयोजनाका उपनिर्देशक प्रवीण शाहले कालिकाले सुरु गरेकोे काममा अहिलेसम्म ६० प्रतिशत प्रगति भएको बताए। कोरोनालगायत विभिन्न कारणले तोकिएको समयभित्र काम हुन नसकेको उनको भनाइ छ। एसियाली विकास बैंकको सहयोगमा सहरी विकास मन्त्रालय मातहतको क्षेत्रीय सहरी विकास आयोजनाले २०७७ देखि ८ वटा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सहरी विकासका लागि विभिन्न आयोजना सुरु गरेको छ। जसअनुसार विराटनगर, वीरगन्ज, नेपालगन्ज, सिद्धार्थनगर, धनगढी, गोदावरी, शुक्लाफाँट (कञ्चनपुर) र भिमदत्त (कञ्चनपुर) मा सडक, नाला निर्माणलगायतका काम सुरु गरिएको हो।

अहिले आठवटै पालिकामा समग्र कामको प्रगति करिब ७० प्रतिशत पुगेको शाहको भनाइ छ। धनगढीको आयोजना क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीले हेरिरहेको छ। आफूले बनाउने १० किलोमिटर सडकको कुनै ठाउँमा १२ मिटर र कुनै ठाउँमा २४ मिटर चौडा गर्ने प्रतिबद्धता कालिकाले गरेको थियो। १० किलोमिटरमा कतै पनि पिच भएको छैन। सडकवरिपरि नाला नबन्दा वर्षायाममा पानी जमेर अस्तव्यस्त हुने मेयर शाहले बताए।  

सहरी विकास मन्त्रालयका अनुसार कालिकाले कैलालीको गोदावरी नगरपालिकामा पनि सडक निर्माणको ठेक्का पाएको छ। विभागका अनुसार गोदावरीमा पनि तोकिएको समयभित्र काम भएको छैन। अहिलेसम्म गोदावरीमा ७० प्रतिशतजति काम भएको विभागको भनाइ छ। यसैगरी कालिका कन्स्ट्रक्सनले करिब २ अर्ब रूपैयाँमा वाग्मती नदीको गोकर्णदेखि तिलगंगासम्म सौन्दर्यकरण गर्न २०७४ सालमा ठेक्का पाएको थियो। ठेक्काअनुसार कालिकाले काम गरेको भए दुई वर्षपहिले नै सौन्दर्यकरणको काम सक्नुपथ्र्यो। तर कालिकाले समयमा काम नसकेर म्याद थप गर्न सहरी विकास मन्त्रालयमा फाइल पठाएको छ। मन्त्रालय स्रोतका अनुसार वाग्मतीको सौन्दर्यकरणको विषयमा पनि कालिकाले भनेअनुसार नै म्याद थप हुने निश्चित छ।

मन्त्रालय स्रोतका अनुसार २०७५ सालमा करिब २ अर्ब रूपैयाँमा नक्खु खोला कोरिडोर निर्माण गर्न सहरी विकास तथा भवन निर्माण विभागले कालिका कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो, जहाँ करिब आधा काम पूरा भएको छ। स्रोतका अनुसार कालिकाले करिब ३ दर्जन आयोजनाको ठेक्का लिएको छ। कालिकाले ठेक्का पाएका अधिकांश आयोजनाको काम समयमा पूरा गरेको छैन।

प्रकाशित: १२ माघ २०७९ ००:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App