नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गरेकी छिन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबार आएर पदबहाली गरेकी हुन्। उनलाई संसद् सचिवलयका महासचिव डा भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले स्वागत अभिवादन गरेका थिए।
उनी यही माघ ७ गते प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा चयन भएकी हुन्।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिमरेसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख रानाले पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।
राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको समारोहका बीच सभामुख घिमिरेसमक्ष उपसभामुख रानाले पद तथा गोपनीयताको शपथ लिएकी हुन्। सभारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित रहेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखको राना शनिबार निर्वाचित भएकी हुन्। उपसभामुख भएपछि उनी पार्टीबाट अलग भएकी छिन्।
प्रकाशित: ९ माघ २०७९ १३:१९ सोमबार





