प्रदेश १ सरकारका खानेपानी, सिँचाई तथा उजा मन्त्री तिलकुमार मेन्याङ्वोले बृहत् विराट विकास क्षेत्रका विभिन्न शहरहरुमा विद्युतीय सवारी साधन चार्ज गर्नका लागि द्रुत चार्जिङ स्टेशन स्थापना गर्ने पहिलो निर्णय गरेका छन्।
सोमवार पदभार ग्रहण गर्दै मेन्याङ्वोले द्रुत चार्जिङ स्टेशन स्थापना गर्ने पहिलो निर्णय लिएको उनका सूचना प्रविधि क्षेत्रको समन्वय गरिरहेका हेमराज निरौलाले जानकारी दिए।
मन्त्रालयले चालू आर्थिक वर्षका लागि द्रुत विद्युतीय चार्जिङ स्टेशन निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ। यहीँ रकमको परिचालन गरी द्रुत विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्ने पहिलो निर्णय भएपनि ठाउँ भने तोकिएको छैन।
प्रदेश १ सरकारले चालू आवका लागि प्रस्तुत गरेको बजेट वक्तव्यको ८४ नम्बरमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको प्रयोगलाई क्रमशः विस्थापन गरी विद्युतीय चुल्हो प्रयोग गर्न प्रोत्साहित गर्ने र सरकारी, गैर सरकारी तथा निजी क्षेत्र सँग समन्वय गरी विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेशन निर्माण प्रकृया अघि बढाउने उल्लेख छ।
मन्त्री मेन्याङ्वोले पदभार ग्रहण गरेको पहिलो दिन विद्युतीय सवारी साधनका प्रयोगकर्ताहरूले आ–आफ्नै घरमा जडान गरिएको विद्युतीय प्रणालीबाट चार्ज गरिरहनु परेको यो प्रकृया झन्झटिलो भएको महसुस गर्दै चार्जिङ स्टेशन स्थापना स्थापनाको निर्णय लिएको जनाएका छन्।
प्रकाशित: ९ माघ २०७९ ११:४२ सोमबार





