७ वैशाख २०८१ शुक्रबार
राजनीति

५ बर्षमा प्रदेशलाई उचाईमा पुर्‍याउँछौः मुख्ममन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बढ्दो आयात कम गर्न आफ्नै ठाउँ अनुकुलको उत्पादन बढाउनुपर्ने बताएका छन्। गाउँघरको जग्गा बाँझो छोडेर नेपालमा उत्पादन हुने कृषि उत्पादनको समेत आयात गर्ने अवस्थाको अन्त्य गर्ने बताए। 

१० दिनदेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव,माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको समापन समारोहमा शनिबार बोल्दै मुख्यमन्त्री अधिकारीले माटो अनुकुल उत्पादन गरी आयात प्रतिस्थापन गर्न सकिने प्रसस्तै सम्भावना भएकाले प्रदेश सरकारले निजी क्षेत्रसँग समेत सहकार्य गरी योजना बनाउने बताए। ‘म्याग्दीमा उत्पादन हुने बस्तु पोखराबाट ल्याउनुपर्ने अवस्थाको अव अन्त्य हुनुपर्छ,‘अब सबैले कुराभन्दा काम गरेर देखाउने समय आएको छ’ मुख्यमन्त्री अधिकारीले भने।  

मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक म्याग्दीमा आएका अधिकारीले कालिगण्डकी नदीको शिलालाई भारतको अयोध्यासम्म पु¥याउने कार्यले धार्मिक पर्यटनलाई प्रर्बधन गर्ने बताए। उनले गण्डकी प्रदेशको लाइफलाइन मानिएको कालीगण्डकी कोरिडोर अन्तरगत उत्तर–दक्षिण जोड्ने सडकखण्डको स्तरोन्नती, कोरोला नाका सञ्चालनमा आएपछि आर्थिक गतिविधिका धेरै सम्भावना भएकाले पर्यटन क्षेत्रमा सक्रिय भएकालाई अहिले नै होटल बन्द नगर्न अनुरोध गरे।‘हामीसँग सम्भावना धेरै छ, कालिगण्डकीमा सुन भेटिन्छ,मैले प्रत्यक्ष धेरैपटक सुन चाल्दै गरेको देखेको छु’ मुख्यमन्त्री अधिकारीले भने।

उनले कृषि, पर्यटन र जलविद्युत मुख्य आधार भएकाले अब प्रदेश सरकारले जनतासँग प्रत्यक्ष जोडिएका क्षेत्रलाई उच्च प्राथमिकता दिएर योजना बनाउने बताए। उनले गण्डकी प्रदेशभित्रका हरेक जिल्लाका बारेमा जानकारी रहेको बताए। उनले छिमेकी राष्ट्र चिन र भारतसँगको सम्बन्धलाई बलियो बनाउने बताए। उनले दुबै देशलाई जोड्ने कालिगण्डकी करिडोरलाई समयमै सम्पन्न गर्न प्रदेश सरकारबाट सबै किसिमको सहयोग हुने बताए। उनले विकास निर्माणमा सरकारको स्रोतसाधनले भ्याएसम्मका काम गरिने बताए। मुख्यमन्त्री अधिकारीले अलपत्र अवस्थामा रहेको बेनी अस्पतालको ५० शैयाको भवनलाई तत्काल सुरू गर्न समेत ठेकेदारलाई निर्देशन दिए। ‘ठेकेदारको लापरवाहीले जनतालाई असर गरिरहेको छ,‘जिल्ला अस्पताललाई गुणस्तरीय सेवाका लागि आवश्यक सबै सहयोग गर्छु’ मुख्यमन्त्री अधिकारीले भने। उनले शिक्षा र स्वास्थ्यलाई पर्यटनसँग जोड्ने कार्यमा प्रदेश सरकारले सहयोग गर्ने बताए।  

मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति हाबी भएको बताउँदै आफ्नो ५ बर्षे कार्यकालमा जनतालाई अनुभुती हुने गरी काम गर्ने बताए।म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीबजारको खुलामञ्चमा गएको पुस २८ गतेदेखि सुरु भएको महोत्सवमा शनिबार सकिएको संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए।  

१० करोडको कारोबार, डेढलाखले अवलोकन गरे  

म्याग्दी महोत्सवमा १० करोड बराबरको कारोबार भएको छ। महोत्सवको अवसरमा विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषासहित प्रतियोगिताले कला, संस्कृति तथा भेषभूषाको जगेर्नामा समेत सघाएको आयोजकले बताएको छ। महोत्सवमा कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्यौली, एकल र खुल्ला नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो। महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु लगायत रमाइलो मेलामा डेढ लाख आन्तरिक पर्यटकको आगमन भएको र करिब दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ।  

महोत्सवमा एक करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी, एक करोड १५ लाख ७७ हजार २११ रुपैयाँ खर्च र नौ लाख नौ हजार ७८९ रुपैयाँ बचत हुने अनुमान गरिएको छ। म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो। हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको थियो।          

प्रकाशित: ७ माघ २०७९ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App