१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सभामुखमा घिमिरे निर्वाचित

प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। एमालेको प्रस्ताव र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा उम्मेदवार बनेका घिमिरे सभामुखमा निर्वाचित भएका हुन्। घिमिरेको पक्षमा १६७, विपक्षमा १०० र तटस्थमा एक मत पर्‍यो। सभामुख चयनका लागि प्रतिनिधिसभामा बिहीबार मतदान भएको हो।

सभामुखमा सत्ता गठबन्धनबाट एमालेका घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपाने उम्मेदवार थिए। उम्मेदवारी दर्ताबमोजिम पहिलो क्रमसंख्यामा रहेका घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले दोस्रो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएन। 

२७५ सदस्यीय प्रतिनिधिसभामा सभामुख निर्वाचनका बेला २६८ सांसद उपस्थित थिए। घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र आम जनता पार्टी (आजपा) र दुई स्वतन्त्र सांसदले मत दिए। एमालेका ७८, माओवादी केन्द्रका ३१, रास्वपाका २०, राप्रपाका १३, जसपाका १२, जनमत पार्टीका ६, नाउपाका ४ सांसदले घिमिरेको पक्षमा मतदान गरेका थिए। त्यस्तै आजपका प्रभु साह र स्वतन्त्र दुई सांसद अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले घिमिरेको पक्षमा मतदान गरे।  

माओवादी केन्द्रका वर्षमान पुन अस्पतालमा भएका कारण बैठकमा अनुपस्थित भए। कांग्रेस सांसद बिनाकुमारी थनैत, मनोरमा शेरचन र सपना राजभण्डारी पनि अनुपस्थित थिए। कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन्। फरार सूचीमा रहेका एमालेको सांसद लक्ष्मी महतो कोइरी पनि बैठकमा अनुपस्थित थिए। राप्रपाका पशुपतिशमशेर जबराले ज्येष्ठ सदस्यको भूमिकामा बैठकको अध्यक्षता गरेकाले मतदानमा भाग लिएनन्।

बिहान ११ बजे सुरु भएको बैठकमा प्रस्तावकले प्रस्ताव राख्नु र समर्थकले समर्थन गर्नुको कारणबारे बताएपछि सबै दलका नेताले आआफ्ना भनाइ राखेका थिए। त्यसपछि मतदान सुरु भएको थियो । पक्ष र विपक्षमा लबी विभाजनसहित दस्तखतद्वारा मतदान गर्ने व्यवस्था गरिएको थियो।  

मतदानमा कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गरेका थिए। कांग्रेसको कुल ८९ सिटमध्ये चारजना अनुपस्थित भएकाले ८५ मत खसेको थियो। नेकपा एसका १० सिटमध्ये सबैजना उपस्थित भई मतदान गरेका थिए। लोसपाका चारजनामध्ये सबैले मतदान गरे। राष्ट्रिय जनमोर्चाको १ सिट भएकाले चित्रबहादुर केसीले विपक्षमा दिए। जसबाट सभामुखका उमेदवार घिमिरेको विपक्षमा १०० मत खसेको थियो। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भने सभामुखको निर्वाचनमा तटस्थ रहने निर्णय गरेकाले सांसद प्रेम सुवालले तटस्थतर्फको लबीमा गएर मतदान गरेका थिए। निर्वाचित सभामुख घिमिरेले सञ्चारकर्मीसँग बोल्दै आफूले पदमा रहुन्जेल तटस्थ भूमिका खेल्ने बताए।

संसदीय इतिहासमा एमालेले धेरै समय सभामुखको भूमिका निभाएको छ। २०६२÷६३ को जनआन्दोनपछि पुनस्र्थापित प्रतिनिधिसभापछि अन्तरिम व्यवस्थापिका संसद्मा सुवासचन्द्र नेम्वाङ सभामुख बनेका थिए। २०६३ माघमा अन्तरिम संविधान जारी पछि नेम्वमङ पुनः सभामुखमा दोहोरिएका थिए। संविधानसभाको निर्वाचन २०६४ चैत २८ गते भएपछि बनेको पहिलो संविधानसभामा पनि नेम्वाङ संविधानसभाको अध्यक्ष र व्यवस्थापिका संसद्को हैसियतमा बसेको बैठकको सभामुखका रूपमा रहेका थिए। पहिलो संविधानसभा विघटन भई दोस्रो संविधानसभाको निर्वाचन २०७० मंसिर ४ गते सम्पन्न भएपछि गठन भएको दोस्रो संविधानसभामा पनि उनी संविधानसभाका अध्यक्ष र रूपान्तरित व्यवस्थापिका संसदको सभामुखको भूमिकामा रहे। २०७२ असोज ३ गते संविधान जारी भएपछि नेम्वाङले राजीनामा दिएका थिए। त्यसपछि २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछिको प्रतिनिधिसभामा पनि एमालेले सभामुख पाएको छ। संसदीय इतिहासमा कांग्रेसबाट चारजना सभामुख बनेका छन्। जसमा कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना, रामचन्द्र पौडेल र तारानाथ रानाभाट छन्। माओवादी केन्द्रले पनि तीनजनालाई सभामुख बनाउने अवसर पाएको छ। माओवादी केन्द्रबाट सभामुखमा ओनसरी घर्ती, कृष्णबहादुर महरा र अग्नि सापकोटा निर्वाचित भइसकेका छन्।

प्रतिनिधिसभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिबार हुने भएको छ। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपतिशमशेर जबराले सोको जानकारी गराएका हुन्। उनको निर्देशनबमोजिम संसद् सचिवालयले शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको उमेदवारी दिने समय राखेर निर्वाचन सूचना प्रकाशित गरेको छ। शनिबार दिउँसा १ बजेको प्रतिनिधिसभाको बैठकमा उपसभामुखको उमेदवारीको निर्णय प्रक्रिया अघि बढाइनेछ।

बैठकले पोखरामा गत आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटना परी मृत्यु भएकाहरूको सम्झनामा शोक पारित गरेको छ। बैठकमा ज्येष्ठ सदस्य जबराले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। काठमाडौंबाट पोखराका लागि प्रस्थान गरेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त हुँदा चालक दलका चारसहित ७२ जनाको निधन भएको थियो। दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकमा मौनधारण गरिएको थियो। यसअघि बिहीबारकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले विमान दुर्घटनाबारे सदनलाई जानकारी गराएका थिए।

प्रकाशित: ६ माघ २०७९ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App