८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस–एमाले घोचपेच

सभामुखको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मतलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसबीच घोचपेच भएको छ। प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनअघि आआफ्ना भनाइ राख्ने क्रममा कांग्रेस र एमालेका नेताहरूबीच घोचपेच चलेको हो।

कांग्रेसले सभामुखका लागि आफ्ना उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न र एमालेले आफ्ना उम्मेदवार देवराज घिमिरेलाई मत दिन सांसदहरूलाई आग्रह गर्नुपर्ने थियो। तर ती दलका नेताहरूले मत माग्नेभन्दा पनि घोचपेचमै धेरै समय खर्चिए। कांग्रेस सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदा एमाले अध्यक्ष केपी ओलीले गरेको ‘ढोक्सा’को विषयमा प्रतिवाद गरे। ओलीले त्यसबेला कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताएका थिए।

सभामुखमा उम्मेदवारी दिएकी कांग्रेसकी न्यौपानेका प्रस्तावक एवं कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्ने योजना पनि छैन। तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन आग्रह गर्छु।’

आफू प्रधानमन्त्री भएका बेला उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन संविधानले नदिने बताएका ओलीले दाहाल प्रधानमन्त्री हुँदा संयन्त्रको नेतृत्व लिएकोतर्फ संकेत गर्दै शर्माले भने, ‘संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोज्नु हो।’ कांग्रेस नेता विमलेन्द्र निधिले आफूहरूले विश्वासको मत दिँदा एमाले अध्यक्ष दुःखी हुनुको अर्थ के हो भनेर प्रश्न गरेका थिए। निधिले प्रतिनिधिसभा फेरि विघटन हुने हो कि भनेर चिन्ता लागेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए। एमाले अध्यक्ष ओलीले ‘बलयगाडामा चढेर अमेरिका पुगिँदैन’, ‘संघीय प्रणाली बाध्यताले स्वीकार गरेको’ जस्ता टिप्पणी गरेको स्मरण गर्दै उनले भने, ‘संघीयता, गणतन्त्र खतरामा पर्ने त होइन ?’ त्यस्तो नहोस् भनेर आफूहरूले विश्वासको मत दिएको तर एमालेलाई चिन्ता लागेको उनले बताए।

त्यसैगरी एमालेका सचिव योगेश भट्टराईले कांग्रेस नेतालाई लक्षित गर्दै भने, ‘कतै त्यो विश्वासको मत जानुपर्ने एकातिर, लगाइएको आँखा अर्कातिर हो कि भन्ने आभास भइरहेको छ।’ चुनावअघि बनेको गठबन्धनबाटै सरकार बन्छ र एमाले प्रतिपक्षमा बस्छ भन्ने हामीलाई लागेको थियो भन्दै उनले पुस १० गते अपराह्न राजनीतिको कोर्स बदलिएपछि सत्तामा पुगेको बताए। ‘

त्यसअघि हामीले सभामुख पनि मागेनौं, राष्ट्रपति पनि मागेनौं। हाम्रो दल प्रतिपक्षमा बस्छ भनेका थियौं,’ उनले भने। तर अहिले संसद्मा लिने र दिनेको प्रसंग उठेको भन्दै उनले कांग्रेस धेरै लिने र एमाले दिनेमा पर्ने जिकिर गरे। २००८ सालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदा पनि कांग्रेसकै प्रधानमन्त्री भएको स्मरण गर्दै एमाले सचिव भट्टराईले भनेका छन्, ‘यो सम्झिन त मन थिएन, साथीहरू पुरानो गीत गाउनुभयो। हामी पनि गीत सम्झिऊँ भनेर मात्र सम्झिएको हुँ।’ उनले प्रमोद खरेलको गीतमा ‘माया गर्ने मुटुले हो, निधारले होइन’ भन्ने सुनेको उल्लेख गर्दै भने, ‘यदि प्रधानमन्त्रीज्यूलाई विश्वासको मत मुटुले दिएको हो भने देवराज घिमिरेले पनि त्यो मत प्राप्त गर्नुपर्छ। यदि त्यो निधारतिर हो भने त्यसमा केही भन्नु छैन।’

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफूलाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गरेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरूसँग आग्रह गरेका थिए। नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता प्रकाश ज्वालाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर लगाएको गुन तिर्ने बेला आएको बताए। सभामुखमा कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेका समर्थक रहेका ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पाएको जस्तै मत सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेले पाउनुपर्ने भन्दै व्यंग्य गरेका थिए।

बैठकमा कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भएनभएको निक्र्योल गरेर मात्र बैठक चलाउन माग गरेका थिए। बैठकको सुरुमै उनले सो जानकारी गराउन ज्येष्ठ सदस्यलाई आग्रह गरेका थिए। तर सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थकका रूपमा संसद्लाई सम्बोधन गर्ने क्रममा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिएका थिए। ‘विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन। त्यसको एउटा प्रक्रिया छ। त्यसमा कसैले दबाब र प्रभाव दिनुहुनेछैन भन्ने विश्वास लिएको छु।’ फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले संसद्मा आएर शपथ लिएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई गत पुस २६ गतेको बैठकमा विश्वासको मत पनि दिएका थिए।

प्रकाशित: ६ माघ २०७९ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App