१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवाले मन्त्रीको नाम दिएनन्

काठमाडौं- प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले मन्त्रीहरूको नाम नदिँदा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिन सकेका छैनन्। साउन २० गते प्रधानमन्त्रीको शपथसँगै कांग्रेसका दुई नेतालाई सरकारमा सहभागी गराए पनि सभापति शेरबहादुर देउवाले अन्य नेताको नाम उपलब्ध नगराउँदा सरकारले पूर्णता पाउन नसकेको हो। प्रधानमन्त्रीमा शपथसँगै दुई उपप्रधानमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका दाहालले त्यसपछि दुईपटक सरकार विस्तार गर्दै १८ सदस्यीय पुर्‍याएका छन्। दाहालले आइतबार आफ्नै पार्टीबाट पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त गरे पनि कांग्रेसले प्रमुख भ्रातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशनलाई देखाउँदै सरकारमा सहभागी हुने थप नेताको नाम उपलब्ध गराएन।

निर्वाचनअघि नै पार्टीका तर्फबाट सरकारमा सहभागी हुने नेताहरूको नाम दिँदा त्यसको असर संघको नेतृत्व चयनमा पर्ने जनाउँदै कांग्रेसले थप मन्त्रीको नाम नदिएको स्रोतको दाबी छ। 'नेविसंघको महाधिवेशनपछि सरकारमा पठाउने बाँकी नेताको नाम उपलब्ध गराउने सभापतिजीले बताउनुभएको थियो,' प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, 'महाधिवेशन लम्बिँदै जाँदा पूर्व समझदारीअनुसार आज (आइतबार) पनि कांग्रेसबाट थप नेता सरकारमा सहभागी हुने अवस्था आएन।'

महाधिवेशनअगाडि नै सरकारमा सहभागी हुने नेताको नाम पठाउँदा संघको नेतृत्व फुत्किनसक्ने डरले देउवाले ढिलो गरेका हुन्। मन्त्रीका लागि आकांक्षीको सूची लामो भएपछि सभापति देउवाले माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई संघको महाधिवेशनपछि मात्र बाँकी मन्त्रालयको जिम्मेवारीसहित नेताहरूको नाम दिने यसअघि नै बताएका थिए। 

'कांग्रेस सभापतिकै आग्रहमा सरकार विस्तारमा ढिलाइ गरेका हौं,' निकट स्रोतले भन्यो, 'धेरै नै ढिला हुन थालेपछि आफ्ना पार्टीका साथीलाई मात्र भए पनि जिम्मेवारी दिनुभएको हो।'

कांग्रेससँग भएको मन्त्रालय बाँडफाँटको सहमतिअनुसार  प्रधानमन्त्री दाहालले पार्टीका थप ९ नेतालाई आइतबार सरकारमा सहभागी गराएका छन्। माओवादी नेताहरू जनार्दन शर्मा, हितराज पाण्डे, सुरेन्› (राम) कार्की, अजयशंर नायक र धनीराम पौडेललाई मन्त्री नियुक्त गरेका हुन्। मन्त्री नियुक्त भएका पौडेलबाहेक सबैले मन्त्रालयको जिम्मेवारी पाएका छन्। विस्तारित मन्त्रिपरिषद्मा शर्माले ऊर्जा, पाण्डले संघीय मामिला तथा स्थानीय विकास, कार्कीले सूचना तथा सञ्चार र नायकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराएकी छन्। 

त्यस्तै, श्रीप्रसाद जवेगु, धनमाया विक, राधिका तामाङ र सत्यनारायण भगत राज्यमन्त्रीमा नियुक्त भएका छन्। जवेगु संघीय मामिला, तामाङ कृषि र भगतलाई ऊर्जाको जिम्मेवारी तोकिएको छ। उनीहरूलाई प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद तथा गोपनीयताको शपथ गराए।

शिक्षा मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी हुने तयारीमा रहेका पौडेलले भने कुनै जिम्मेवारी पाएनन्। पूर्वसहमति विपरीत कांग्रेसले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन शिक्षा मन्त्रालय मागेपछि पौडेललाई कुनै मन्त्रालयको जिम्मेवारी नदिइएको हो। गृह मन्त्रालय दाबी गरेका नेता अर्जुननरसिंह केसीका लागि कांग्रेसले शिक्षा मन्त्रालय माग गरेको स्रोतको दाबी छ।

यसअघि साउन २० गते नै माओवादीबाट कृष्णबहादुर महरा उपप्रधानसहित अर्थ, गौरीशंकर चौधरी कृषि र दलजित श्रीमाइलीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।

प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताद्वय दीपक बोहोरा र विक्रम पाण्डे तथा नेकपा संयुक्तका नेता जयदेव जोशीलाई साउन २४ गते सरकारमा सहभागी गराइसकेका छन्। बोहोराले आपूर्ति, पाण्डेले भूमिसुधार र जोशीले जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन्।

कांग्रेसबाट नेता विमलेन्द्र निधिले उपप्रधानसहित गृह र रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित साउन २० गते नै सरकारमा सहभागी भएका छन्।

प्रकाशित: ३१ श्रावण २०७३ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App