काठमाडौं– सरकारले दुई छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउन भन्दै उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल र दुई छिमेकी देशबीचको सम्बन्ध सुमधुर गर्न उपप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको विशेष दुतको रुपमा भारत र चीन पठाउने निर्णय गरेको हो।
बैठकले प्रधानमन्त्रीको विशेष दूतको रुपमा भारतमा उपप्रधान तथा गृहमन्त्री निधि र चीनमा उपप्रधान तथा अर्थमन्त्री महरालाई पठाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री महराले जानकारी दिए।
यसैगरी बैठकले महंगी, कालोबजारी, कृतिम अभाव र मिसावट रोक्न गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। बैठकले मिसावट, कालोबजारी र कृतिम अभावबारे भएको कानुनी व्यवस्थामा थप कडाई गर्नका लागि ऐन संशोधनको प्रस्ताव ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रकाशित: २७ श्रावण २०७३ ०६:०७ बिहीबार