उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माणमा ढिलाइ भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको नवलपुर खण्डमा अनुगमन गरेका छन्।
उनले आज दिउँसो सडकखण्डको गैँडाकोटदेखि कावासोतीसम्मको सडकखण्डको अवलोकन गरेका हुन्। मन्त्री श्रेष्ठले सडक विस्तारको काम भइरहेको गैँडाकोट तथा कावासोतीको विभिन्न क्षेत्रमा स्थलगत अनुमगन समेत गरे। उनले सडक अनुगमनका क्रममा स्थानीयवासीसँग छलफल गर्दै सडक विस्तारको काम चाँडो हुने आश्वस्त पारे।
'यस सरकारको एकमात्रै एजेण्डा आर्थिक वृद्धिदर हो', उनले भने, 'त्यसका लागि सरकारको प्राथमिकता पूर्वाधार निर्माण रहेको छ।' गैँडाकोट–११ भेँडाबारीका स्थानीयवासीसँग छलफल गर्दै स्थानीयवासीको समस्या आफूले बुझेको भन्दै उनले अहिले स्थलगत अवलोकनबाट थप समस्याबारे आफू जानकार रहेको बताए।
सडक विस्तारको काममा ढिलाइ हुँदा स्थानीयवासीले आफूहरूको स्वास्थ्यमा समस्या देखिन थालेको गुनासो गरेका थिए।
सडक विस्तारका लागि बिजुलीको पोल सार्नुपर्नेमा पोल झारेको लामो समय बितिसक्दासमेत पोल नसारिएको गुनासो गरेका थिए। सो क्रममा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पूर्वखण्ड प्रमुख इन्जिनियर रमेश दिष्टीले गैँडाकोटको केही ठाउँमा पोल सार्न ढिलाइ भए पनि अब काम तीव्र गतिमा हुने बताए। सडक विस्तारका लागि सबै अवरोध हटिसेकाले अब काम तीव्र गतिमा बढ्ने दिष्टीको भनाइ थियो।
प्रकाशित: ३ माघ २०७९ १५:३९ मंगलबार