८ वैशाख २०८१ शनिबार
राजनीति

अरुलाई प्रश्न सोध्न माहिर ‘डा.तोसिमा’ को अब सुरु भयो परीक्षा

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन्। सत्ता साझेदार दलहरुको भागबण्डा अनुसार उनी राज्यमन्त्री  भएकी हुन।

सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ जना मन्त्री र १ जना राज्यमन्त्री छन्। गृह, श्रम, शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री लिँदा डा. कार्कीले राज्यमन्त्री पाएकी हुन्। 

उनी लामो समयदेखि चिकित्सा क्षेत्र सुधारका लागि आवाज उठाउँदै हिँडेकी महिला हुन्। उनको राजनीतिक यात्रा भने २०७९ मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन देखि सुरु भएको हो। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट उठेकी थिइन। 

उनले नेकपा माओवादी केन्द्रकी  उपमहासचिव तथा तत्कालीन ऊर्जा मन्त्री पम्फा भुसाललाई २२ हजार ३ सय ६७ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन्। उनको प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्का र पम्फा भुसाललाई पराजित गरेर उनी चर्चामा आएकी थिइन्।  

उनले भदौ २८ गते उम्मेदवारी दिनु भन्दा अगाडी उनले मेडिकल काउन्सिलको सदस्य पद नत्यागेको भन्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा उम्मेदवारी खारेजको माग गरेको थियो। तर उक्त उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले कात्तिक १५ गते अन्तरिम आदेश दिएको थियो।

उनले निवार्चनअघि भनेकी थिइन्, ‘निर्वाचनमा विजयी भएपछि बोल्न नसक्नेको आवाज बन्छु, मौलिक हक अधिकार सुनिश्चितताको लागि लड्छु तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने छु।’ आज राज्य मन्त्रीको पदभार ग्रह गरेपछि पनि उनले भनेकी छिन्, ‘अब नेपालमा कोहीको पनि उपचार नपाएर मृत्यु हुँदैन।’

डा. कार्की पेसाले पनि स्वास्थ्य क्षेत्रकै हुन। उनी राज्यमन्त्री हुन् भन्दा अगाडी पाटन अस्पतालमा चिकित्सक जनरल सर्जनको रुपमा काम गर्दै थिइन। उनी बुवा पदम बहादुर कार्की र माता दीपा कार्कीकी छोरी हुन्। उनको जन्म वि सं २०४६ मा भएको हो। 

डा. कार्की आदिनाथ गाउँ, नख्खु खोला मार्ग, ललितपुर वडा नं १८ की स्थायी बासी हुन्। सहिद धर्मभक्त स्कुल, नख्खुमा कक्षा १० सम्म पढेकी उनले मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा ११ र १२ सकेकी हुन्। किष्ट मेडिकल कलेज, ललितपुरबाट एमबिबिएस गरेकी उनले काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स गरिन्। 

डा. कार्कीले विगत ११ वर्षदेखि चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा अभियानको नेतृत्व साथै नागरिकका जायज मुद्दाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छिन्। २०७१ र ०७२ मा मेडिकल कलेजहरूमा हुने बेथिति विरुद्ध इन्टर्न डाक्टर तथा मेडिकल विद्यार्थी आन्दोलनको नेतृत्व गरेर अस्पताल तथा स्वास्थ्यकर्मीहरू माथि हुने भौतिक आक्रमणलाई न्यूनीकरण गरेर सुरक्षाको प्रत्याभूतिका लागि विगत सात वर्षदेखि विभिन्न चरणमा ‘सेभ मेडिकल फ्रयार्टनिटी मुभमेन्ट’को नेतृत्व गर्दै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी ऐनमा ‘जेल विथआउट बेल’को अवधारण समेटी संशोधन गराउन उनी सफल भएकी छिन्।

भूकम्पको बेला सिन्धुपाल्चोक, बतासे, रामेछाप, नुवाकोट, साल्मे, ललितपुरको दुर्गम ठुलो दुर्लुङ लगायत ठाउँहरूमा स्वास्थ्य तथा राहत शिविरको समेत उनले नेतृत्व गरेकी थिइन।त्यस्तै गरी शीतलहरूको बेला सुनसरी, इनरुवा, रौतहटमा ‘जाडोमा न्यानो’ अभियानको नेतृत्व गरेकी तोसिमा बाढी पहिरोले घर खेत बगाएको बेला तराईको सप्तरी, सुस्ता, इनरुवा जस्ता बस्तीहरूमा ‘राहत तथा उद्धार’ कार्यक्रमका साथै स्वास्थ्य शिविर सञ्चालनसमेत गरेकी थिइन। 

वि.सं. २०७४ र ०७५मा त्रिवि मेडिकल कलेजहरूमा एमडी, एमएस, र बिडिएस भर्नामा हुने भ्रष्टाचार र बेथितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दाको नेतृत्व लिई मेरिट सूचीअनुसार भर्ना स्थापित गर्न समेत सफल भएकी हुन।

२०७५ र ०७६ सालमा पुनः सर्वोच्च अदालतमा मुद्दाको नेतृत्व लिई त्रिवि मेडिकल कलेजहरूमा हुने स्नातकोत्तर भर्नाको भर्ना शुल्क निर्धारण गरी लागू गराउन सफल भएकी थिइन्। सबैभन्दा बढी त उनी डा.गोविन्द केसीको स्वास्थ्य क्षेत्रतर्फको २० पटकसम्मको सत्याग्रहको आन्दोलन, व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्। 

कोभिड–१९ को महामारीमा निरन्तर ड्युटीमा खटिएको अवस्थामा स्वास्थ्यकर्मीरूलाई सुरक्षा सामग्री व्यवस्थापन गर्नुका साथै आम जनमानसका लागि जनचेतना, स्वास्थ्य सामग्री, अक्सिजन सिलिन्डर तथा होम आइसोलेसनलगायतको सहजीकरणमा भूमिका निभाएकी थिइन्।

देशभरका चिकित्सकहरूबाट समर्थन पाएर २०७८ साल मंसिर १२ गते नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा अत्यधिक मत प्राप्त गरेर नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्यको रूपमा निर्वाचित भएकी उनी मेडिकल काउन्सिलमा रहेर चिकित्सकहरू र चिकित्सकीय अभ्यासलाई प्रभावकारी बनाउन नीतिगत भूमिका निभाउँदै आएकी थिइन्। उनले उक्त पद सांसद भएपछि २०७९ साल मंसिर १९ गते राजीनामा दिएकी हुन्। 

सामाजिक न्याय र भ्रष्टाचारविरूद्ध आन्दोलनहरूमा उनी सक्रिय थिइन्। विगतमा  कुनै पनि राजनीतिक दलमा आबद्ध नभएकी तोसिमा प्रथम पटक बीबीसीको साझा सवालमा  तत्कालिन  प्रधानमन्त्री शेरबहादुर देउवालाई डा. गोविन्द केसीको अनसन र मुद्दामा कहिले सहमति हुन्छ भनेर प्रश्न सोधेकी थिइन् भने अहिले जवाफ दिने स्थानमा पुगेकी छिन्। 

प्रकाशित: ३ माघ २०७९ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App