१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारीले गरिन विजयपुरका मठमन्दिरहरूमा पूजाअर्चना

धरान १४ विजयपुरस्थित दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरको दर्शन तथा पूजा गर्दे राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर: रोहित राई।

राष्ट्रपति विद्यादेवी भण्डारीले धरान १४ विजयपुरका प्रसिद्ध मठमन्दिरहरूको दर्शन तथा पूजा अर्चना गरेकी छिन्।

नेपाली सेनाको हेलिकप्टरद्वारा धरान आएकी उनले दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा पूजा अर्चना गरेकी हुन्। यी तीन वटै मन्दिर धरान १४ विजयपुर गढीमा रहेको छ।

धरान आउनुअघि राष्ट्रपति भण्डारी सुनसरीकै प्रसिद्ध मन्दिर बराहक्षेत्र पनि दर्शन गरेकी थिइन्। बराहक्षेत्र दर्शन सकेर राष्ट्रपति भण्डारी हेलिकप्टर मार्फत धरान १३ फुस्रेस्थित सैनिक आवासीय माविमा अवतरण भएकी थिइन्। त्यहाँ उनलाई प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश सांसदहरुले स्वागत गरेका थिए।

उक्त स्कुलबाट गाडीमा सवार भएर राष्ट्रपति भण्डारी सुरुमा दन्तकाली मन्दिरमा पुगेकी थिइन्। पौराणिक महत्त्व बोकेको यो मन्दिर नेपालमा भएको शक्तिपिठहरुमध्येको एक महत्त्वपूर्ण मन्दिर हो। यहाँ सती देवीको दाँत खसेको विश्वास गरिन्छ। दन्तकालीमा करिब २० मिनेट राष्ट्रपति भण्डारीले बिशेष पूजा गरेकी थिइन्। त्यसपछि पिण्डेश्वर मन्दिरमा पूजा गरेकी थिइन्। पिण्डेश्वरमा राष्ट्रपति भण्डारीलाई धरानका जनप्रतिनिधिहरू, मन्दिर व्यवस्थापन समिति तथा स्थानीयबासीहरुले स्वागत गरेका थिए।

समुन्द्र मन्थन गरेर निस्केको अमृतपान गरिसके पछि बचेको तर पनि दानवहरूले नपाउन् भनेर पिण्डको आकार बनाएर राखेको ठाउँ भएकोले यो मन्दिरलाई पिण्डेश्वर मन्दिर भनिएको जनविश्वास छ।

कालकुट विष पिएर पीडामा छटपटिँदै भौतारिएका हिन्दु आराध्य देव शिवलाई यहाँ आइपुग्दा शान्ति मिलेको र आँखाबाट आशु खस्दा रुद्राक्ष उत्पत्ति भएकोले यो ठाउँलाई रुद्राक्षरण्य क्षेत्र पनि भनिन्छ। साउन महिनामा यहाँ लाखौँको भक्तजनहरु बोलबल आउने गर्छन्।

पिण्डेश्वर पछि राष्ट्रपति भण्डारीले अर्को प्रसिद्ध मन्दिर बुढासुब्बाको दर्शन तथा पूजा गरेकी थिइन्। यो मन्दिर बिशेष गरी किरातीहरुको आस्थाको केन्द्र हो भने सबै जातजातिहरुले पनि मनोकाङ्क्षा पुरा हुने विश्वासका साथ पूजा गर्ने गर्छन्। मन्दिर भित्र माटोको ढिस्को मात्र छ। त्यसैलाई नै पूजा गरिन्छ। 

बुढासुब्बाका पुजारी उत्तम आलेले राष्ट्रपतिको भ्रमणले धार्मिक पर्यटनमा ठुलो टेवा पुग्ने भन्दै खुसी व्यक्त गरे। राष्ट्र प्रमुख नै भ्रमणमा आउँदा मठमन्दिरको अवस्थाबारे जानकारी मिल्ने र सरकारको पनि ध्यानाकर्षण हुने उनले अपेक्षा व्यक्त गरे। स्थानीयवासी प्रेमप्रसाद पराजुलीले भने राष्ट्रपति आउँदा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा स्वागतमा नदेखिएको भन्दै विरोध प्रकट गरे।

यसले राम्रो सन्देश नजाने भन्दै उनले राजनीतिक आग्रह, पूर्वाग्रह नराखी राष्ट्रप्रमुख आउँदा स्वागतमा आउनुपर्ने बताए। वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले पनि राष्ट्रपति भण्डारीको भ्रमणले पुनः एक पटक धरान र विजयपुर क्षेत्रको धार्मिक महत्त्व उजागर भएको भन्दै खुसी प्रकट गरे।

प्रकाशित: १ माघ २०७९ १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App