धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सबै नेपाली जनता एक नभएसम्म देश अघि बढ्न नसक्ने भन्दै विभाजनको पर्खालमाथि टेकेर एकजुट हुन आह्वान गरेका छन्।
एकीकरण मार्गमा पदयात्रा पछि साँगुरी गढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो आहवन गरेका हुन्। उनले राष्ट्रिय एकता दिवसको महत्त्व धेरै भएको भन्दै नेपालको उन्नति, प्रगति, सुख, खुसी प्राप्तिको एउटै मात्र सूत्र एकता भएको बताए।
‘आज हामी पार्टी, जाति र धर्मको वहानामा विभाजित छौं। हामी एक नभै हाम्रो देश अघि बढ्न सक्दैन। हाम्रो उन्नति, प्रगति, सुख, खुसीको लागि एउटै मात्र सूत्र छ, तपाई हाम्रो एकता,’उनले भने,‘विभाजनका सम्पूर्ण पर्खालहरूमाथि उभिएर, पर्खाललाई टेकेर हामी मिल्न जरुरी छ। हामीलाई पार्टीले नछुट्टाओस्, जातिले नछुट्टाओस्, धर्मले नछुट्टाओस्, सामुदायिक मान्तयताहरुले नछुटाअाेस। हाम्रो जात एउटै छ, नेपाली हो।’
भावनाको गीत मात्र गाएर नहुने भन्दै साम्पाङले एउटाले केही काम गर्न खोज्दा अर्कोले बिगार्ने प्रवृत्ति पनि त्याग्नुपर्ने बताए। उनले भने,‘हाम्रो पुर्खाले के कसरी भूमि जोडे रु टिस्टा काँगडाको कुरा त गछौं, तर हामी बसिरहेकै चोकमा, टोलमा एकता छ कि छैन रु छातीमा हात राखेर सोचौँ त।हामीलाई एकता हुन नदिने तत्त्वहरू जे छ, ती सबैलाई त्याग्नुपर्छ।’कार्यक्रममा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेनद्र रुम्दालीले पनि सम्बोधन गरेका थिए।
प्रकाशित: २७ पुस २०७९ ११:४८ बुधबार