२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा अखिल क्रान्तिकारीको ताला

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रिवि क्याम्पस विशेष समितिले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको र विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै त्रिवि परीक्षा नियन्त्रकको कार्यालयमा तालाबन्दी गरेको छ। 

आइतबार सो संगठनका केन्द्रीय समिति, काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समितिलगायत विद्यार्थी नेताहरूले विद्यार्थीको उत्तरपुस्तिका हराउने र परीक्षाफल प्रकाशित नगरी पुनः परीक्षा लिने त्रिवि प्रशासनको लापरबाहीप्रति आपत्ति जनाउँदै तालाबन्दीका साथै परीक्षा नियन्त्रकको राजीनामा माग गरेका छन्।

यसअघि पनि सो संगठनले एक वर्षदेखि परीक्षाफल प्रकाशित गर्न आलटाल गरेको भन्दै त्रिवि प्रशासनलाई पटकपटक माग बुझाउने, छलफल गर्ने, धर्ना तथा नाराजुलुसलगायत कार्यक्रम गर्दै आएको थियो । तापनि त्रिविले आफ्ना गल्ती, कर्तुत तथा कमजोरीहरू लुकाउँदै लगेको विद्यार्थी नेताहरूले जनाएका छन्। 

‘विभिन्न तह र संकायको परीक्षाफल एक वर्ष बितिसक्दा समेत त्रिविले प्रकाशन गर्न सकेन । हाम्रो संगठनले त्यस्तो हदैसम्मको प्रशासनको ढिलासुस्ती, लापर्बाही र अक्षमताविरुद्धको संघर्षपछि तुरुन्तै परीक्षाफल प्रकाशित गर्ने सहमति भएको थियो तर २०७८ पुस २० देखि माघ ४ सम्म लिएको दमक बहुमुखी क्याम्पस, झापाका स्नातक तह बिबिएस चौथो वर्षमा अध्ययनरत बिजनेस रिसर्च मेथड्स विषयका सिम्बोल नं. ७०२०२०००१ देखि ७०२०२०२५२ सम्मका विद्यार्थीहरूको उत्तरपुस्तिका हराएको घटना बाहिरिएपछि हाम्रो संगठन गम्भीर तथा आक्रोशित भएको छ,’ सो संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘विद्यार्थीको उत्तरपुस्तिकाको समेत सुरक्षा गर्न नसक्ने अक्षम, गैरजिम्मेवार, नैतिक रूपमा पतीत परीक्षा नियन्त्रक पुष्पराज जोशीलगायत अन्य कर्मचारीले तत्काल राजीनामा दिनुपर्ने र दोषी कर्मचारीलाई कडा कारबाही गर्न त्रिवि प्रशासन र नेपाल सरकारसँग जोडदार माग गर्छ ।’

साथै आइतबार विद्यार्थीहरूले परीक्षा नियन्त्रक राजीनामा दे ! दोषी कर्मचारीलाई कडा कारबाही गर ! विद्यार्थीको उत्तरपुस्तिकाको खोजी गर ! सबै तह र संकायको परीक्षाफल प्रकाशित गर ! लगायत नाराबाजीका साथै माग पूरा नभएसम्म तालबन्दीलाई निरन्तरता दिने र कडा आन्दोलन गर्ने बताएका छन्।

तालाबन्दीपछि आयोजित विरोध प्रदर्शनका क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राईले भने, ‘गल्ती त्रिविले गर्ने, सजाय विद्यार्थीलाई दिने कुरा हाम्रो संगठनलाई स्वीकार्य छैन ।’ उनले अक्षम त्रिवि प्रशासनले तत्काल राजीनामा नदिए कडा संघर्ष गर्ने चेतावनी पनि दिए । ‘हाम्रो रहर होइन, बाध्य भएर परीक्षा नियन्त्रकको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको छ,’ सो संगठनका त्रिवि क्याम्पस विशेष समिति संयोजक गोविन्द विष्टले भने, ‘यस्ता अक्षमहरूलाई देशको ढुकुटी झ्वाम पार्दै कुर्सीमा बसिरहने अधिकार छैन । तत्काल निकास नदिए हाम्रो संगठन सडक मोर्चाबाट भौतिक कारबाही गर्न बाध्य हुनेछ।’

प्रकाशित: २५ पुस २०७९ १५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App