२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले मंगलबार निर्णय गर्ने

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मतका लागि राख्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय मंगलबार गर्ने भएको छ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा शनिबार बसेको बैठकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने दिन बिहान मात्र विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री दाहालले मंगलबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने कार्यक्रम छ।

एमालेसँग मिलेर सरकारको नेतृत्वमा पुगेका दाहालको विपक्षमा कांग्रेस उभिने निश्चित भए पनि निर्णय मंगलबार मात्र लिने भएको हो। ‘पार्टीको परम्परा अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने दिन बिहान ९ बजे फेरि संसदीय दलको बैठक बसेर निर्णयमा पुग्छौं,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने। महामन्त्री गगनकुमार थापाले पार्टी विपक्षी बेन्चमा बस्ने जनाउँदै मंगलबार बस्ने संसदीय दलको बैठकले औपचारिक निर्णय गर्ने बताए।

‘जुन दिन संसद्मा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ, त्यही दिन बिहान ९ बजे हामी बैठक बस्छौँ। त्यो बैठकमा निर्णय गर्छौं,’ थापाले भने, ‘संसद्भित्र दोस्रो, तेस्रो पार्टी मिलेर गठबन्धन बनाएर विश्वासको मत लिन उम्मेदवार प्रस्तुत गरेपछि नेपाली कांग्रेसले विश्वासको मत दिने कुरा सामान्य छलफलको विषय होइन, हामीले प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो।’

बैठकले स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्व गराएको भन्दै सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारलाई धन्यवाद दिंदै चुनाव गराउन सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरेको छ। बैठकले कांग्रेसलाई पहिलो दल बनाएको भन्दै सबै मतदातालाई धन्यवाद दिएको छ।

प्रकाशित: २४ पुस २०७९ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App