coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन’

फाइल तस्बिर।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरेको दाबी गरेका छन्। सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार पार्टी पदाधिकारीको बैठकपछि महामन्त्री शर्माले कांग्रेस तत्काल नयाँ गठबन्धन र सरकार बनाउने पक्षमा नरहेको दाबी गरेका हुन्।

‘नेपाली कांग्रेसले तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर पनि भनिरहेको छैन,’ शर्माले भने, ‘कांग्रेस अहिले यस्तो कुरामा बिल्कुलै संलग्न छैन।’ कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको हल्ला कोही साथीले चिया पिउँदै गर्दा भनेको भए पनि पार्टीलाई भने त्यसबारे केही थाहा नभएको उनको जिकिर थियो। तर सभापति देउवाले पछिल्ला दिनमा राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्।

देउवासँग शुक्रबार मात्र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले भेटेका छन्। प्रधानमन्त्री दाहालले विश्वासको मत लिने मिति तय भइसकेको अवस्थामा देउवालाई भेट्न नेपाल उनकै निवास पुगेका हुन्। तत्कालीन गठबन्धन टुटेर नयाँ समीकरण बनेसँगै भएको पहिलो भेटमा नयाँ परिस्थितिका विषयमा कसरी जाने भन्नेमा छलफल भएको निकटहरूले जनाएका छन्।

दाहाल नेतृत्वको सरकारले विश्वासको मत नपाउने त होइन भन्ने आशंका व्यक्त भइरहेका बेला सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग आफैं र निकटहरूमार्फत संवाद अघि बढाएका छन्। यसबीचमा एमाले र माओवादी केन्द्रबाहेकका दलहरूलाई समेटेर जाने, दाहाललाई विश्वासको मत दिएर कांग्रेस नेतृत्वको पुरानो गठबन्धनलाई फेरि निरन्तरता दिने र एमाले–कांग्रेस मिलेर अघि बढ्नेजस्ता सम्भावनामा विभिन्न पक्ष र नेताहरूबीच छलफल भइरहेको निकटहरूको दाबी छ।

प्रकाशित: २३ पुस २०७९ ०१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App