२४ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

उदयपुरका सांसदहरुको एउटै स्वर: मिलेर जिल्लाको विकास निर्माण कार्यमा लाग्छौँ

बधाई कार्यक्रममा उदयपुरबाट निर्वाचित संघीय सांसद रायमाझी,खड्का र प्रदेश सांसदहरु। तस्विरः नागरिक

उदयपुरबाट निर्वाचित सांसदहरुले आफूहरु दलगत स्वार्थभन्दा माथि उठेर जिल्लाको विकास निर्माणमा लाग्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार त्रियुगा नगरपालिकाद्वारा आयोजित ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरुलाई बधाई ज्ञापन’ कार्यक्रममा भेला भएका सबै सांसदहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्।  

जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा तथा सबै दलबाट छनौटमा परेका समानुपातिक सांसदहरुले यो वा त्यो पार्टी नभनी विकास निर्माणमा लाग्ने बताए। त्रियुगा नगरपालिकाले बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा सांसदहरुले चुनावी मैदानमा रहँदा कुनै एउटा पार्टी, विचार र नीति सिद्धान्तबाट उम्मेदवार भए पनि चुनाव जितेर गइसकेपछि सबै जनताको साझा मान्छे हुने भएकाले समग्र जिल्लाको हित अनुकूल काम गर्ने वाचा उनीहरुको थियो।  

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का सांस डा. नारायण खड्काले हिजो चुनावका बेला काँग्रेसको नेता भए पनि चुनाव जितेर गइसकेपछि अब साझा व्यक्ति भएको भन्दै आफू समग्र जनताको पक्षमा काम गर्ने बताए। उनले यसअघि पनि आफू जनताकै कामप्रति समर्पित भएकाले ३ पटक सरासर जिताएर पठाएको भन्दै अब थप प्रतिबद्धताका साथ विकास निर्माणमा लागिपर्ने बताए।  

केही दिनयता देशको राजनीतिक परिदृष्य बद्लिएको तर, जुनसुकै पार्टीको सरकार आए पनि विकास निर्माणमा लाग्नबाट रोक्न नसक्ने खड्काले बताए। बहुलबादी व्यवस्थामा कुनै पनि बेला राजनीतिक समीकरण बद्लिनु स्वभाविक भएको भन्दै डा. खड्काले आजको जस्तो समीकरण भोलि नहुन पनि सक्ने बताए। उनले हिजो सांसद मात्र हुँदा र मन्त्री भएर उत्रिकै काम गर्दै आएको भन्दै आज सरकारभन्दा बाहिर रहेको काँग्रेस भोलि फेरि सत्तामा जान सक्ने संभावना रहेको बताए।  

एमाले नेता तथा प्रतिनिधिसभा २ का सांसद अम्मर रायमाझीले एउटा पार्टींको चुनाव चिन्हबाट मत पाएर जिते पनि अब समग्र निर्वाचन क्षेत्रबासीको साझा भइसकेकाले आग्रह पूर्वाग्रह नराखी काम गर्ने वाचा गरे। उनले काँग्रेस नेता खड्का पहिलेदेखिकै सांसद र पटक पटक मन्त्री भइसकेकाले अनुभवी र क्षमतावान भएको भन्दै उनको साथ र सहयोग लिएर जिल्लाको विकास निर्माणमा दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता रायमाझीको थियो।  

प्रदेश १ (१) का सांसद राजन किरांतीले उदयपुरबाट प्रत्यक्ष र समानुपातिकतर्फका सबै सांसदलाई एकजुट भएर विकास निर्माण र जनजीविकाको सवालमा काम गर्न आग्रह गरे। उनले जनताको जल्दोबल्दो विषयमा पार्टी नीति र सिद्धान्तभन्दा माथि उठेर काम गर्न आफू तयार रहेको र अरु सांसदहरुसँग पनि सहकार्य र समन्वयको अपेक्षा गरेको बताए।  

प्रदेश २ (१) का सांसद नारायण बुर्जा मगरले चुनावी दौरानमा जुनसुकै दल र चुनाव चिन्ह लिएर जिते पनि अब जनताको नोकर भएकाले सबै दल, सिद्धान्त र नीतिभन्दा बाहिर आएर जन अपेक्षा अनुसार काम गर्नुपर्ने बताए। ‘हिजो चुनावमा जाँदा हामी आआफ्नो दलीय मादल बनाएर गयौँ’, सांसद मगरको आग्रह थियो, ‘तर अब हामी जितेर सांसद भइसकेका छौँ, त्यसैले चुनावमा बजाएको मादल फ्याँकेर अब विकासे मादल बजाऔँ, जनताको पक्षमा मिलेर काम गरौँ।’  

प्रदेश २ (२) का सांसद रामकुमार खत्रीले बधाई कार्यक्रममा लगाइदिएको खादा र मालाले जिम्मेवारी बोध गराएको भन्दै त्यो जिम्मेवारी निभाउन जनताको मन जित्ने खालको काम गर्ने बेला आएको बताए। चुनावको बेला जनतालाई दिएको आश्वासन र घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धता अनुसार आफूहरु काम गर्न लागिपर्ने प्रतिबद्धता पनि उनले जनाए। कार्यक्रममा समानुपातिक सांसदहरु लिलाकुमारी राई, सम्झना पाख्रिन, सिर्जना दनुवार र गीता रेग्मीले पनि जनअपेक्षा अनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाएका थिए।  

कार्यक्रममा नगरप्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले सांसदहरुलाई खादा, माला र प्रसंशापत्रले सम्मान गरेका थिए। सम्मानपछि बोल्दै मेयर बस्नेतले सांसदहरु जुनसुकै पार्टीबाट जितेर गए पनि समग्रमा उदयपुृरे जनताको साझा नेता भएकाले दलीय दृष्टिकोण त्यागेर समान दृष्टिले हेर्दै जिल्लाको विकासमा लाग्न आग्रह गरे। उदयपुृर विकास निर्माणको दृष्टिकोणले अझै पनि धेरै पछि रहेको भन्दै मेयर बस्नेतले स्रोत साधनको कमी भएको जिल्ला भएकाले संघ र प्रदेश सांसदहरु एकजुट भई राष्ट्रियस्तरका योजना र अधिकतम बजेट विनियोजन गर्न आग्रह गरे।  

मेयर बस्नेतले मदन भण्डारी लोकमार्गसँग विभिन्न गाउँ र नगरपालिका जोड्ने सडक, मुर्कुची–माझखर्क–हलेसी खण्डको सडक, कटारी–बेतिनी–घुर्मी–ओखलढुंगा सिद्धिचरण लोकमार्ग तथा उदयपुर र खोटाङ जोड्ने गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग तत्काल स्तरोन्नतिसहित कालोपत्रे गर्नुपर्ने खाँचो औंल्याउँदै ती सडक बनेमा ३ जिल्लाबासीलाई यातायातमा सहज हुने बताए। त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न सांसदहरुलाई मेयर बस्नेतको आग्रह थियो। उदयपुर अस्पताललाई स्तरोन्नति गर्न, त्रियुगा नदीलगायत दर्जनौँ खोला खहरे नियन्त्रण, खानेपानी, विद्युत् तथा शिक्षा, स्वास्थ्यमा पनि सांसदहरु मिलेर लाग्न मेयर बस्नेतको आग्रह थियो।  

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले उदयपुरबाट जितेर गएका सबै सांसदहरु जिल्लाबासीका लागि गर्वको विषय भएकाले बधाई ज्ञापन गर्दै विकास निर्माणमा लाग्न ध्यानाकर्षण गराइएको बताए। पार्टी र विचार फरक भए पनि सबै जना मिलेर अघि बढे उदयपुरको भाग्य र भविष्य उज्वल बनाउन सफल हुने भन्दै समग्र जिल्लाबासीको भलो र हितमा काम गर्न अधिृकत वनले आग्रह गरे।  

गत मंसिर ४ को चुनावबाट संघतर्फ प्रतिनिधिसभा क्षेत्र १ बाट काँग्रेसका खड्का, २ बाट एमालेका रायमाझी विजयी भएका छन् भने प्रदेशतर्फ १ (१) मा नेकपा (माओबादी केन्द्र)का राजन किरांती (बासु), १ (२) मा काँग्रेसका हिमाल कार्की तथा २ (१) मा माओवादीका नारायण बुर्जा मगर र २ (२) मा काँग्रेसका रामकुमार खत्री विजयी भएका थिए।  

त्यसैगरी समानुपातिकतर्फ काग्रेसबाट लिलाकुमारी राई, माओबवादीबाट सम्झना पाख्रिन (योद्धा) तथा एमालेबाट सिर्जना दनुवार र गीता रेग्मी सांसद छनौटमा परेका छन्। नवनिर्वाचित सांसदहरुलाई मंगलबारै जिल्ला समन्वय समिति उदयपुरले पनि बधाई ज्ञापन गरेको थियो। जिससले स्थानीय तह तथा जिल्लाका विषयगत कार्यालयहरुको वार्षिक समीक्षा कार्यक्रमको अवसर पारेर सांसदहरुलाई बधाई ज्ञापन गरेको हो।

प्रकाशित: २० पुस २०७९ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App