५ वैशाख २०८१ बुधबार
राजनीति

‘लोगो’ फिर्ता गर्दैनन् पूर्वसांसद

संघीय संसद्का सदस्यले ‘लोगो’ लगाउन पाउँछन्। ‘लोगो’ का आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ। संसद् भवनभित्र प्रवेश गर्दा ‘लोगो’ नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन्। त्यसैले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ। द्विसदनात्मक संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रियसभा छन्।

मंसिर ४ मा भएको निर्वाचनपछि नयाँ प्रतिनिधिसभा गठन भएको छ। प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ। राष्ट्रियसभा स्थायी प्रकृतिको हुन्छ। ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य फेरिन्छन्। अहिले सांसदका लागि भनेर चार सय ‘लोगो’ बनाइएको छ। प्रतिलोगोको मूल्य ५६ सय परेको छ। चार सय ‘लोगो’ बनाउन २२ लाख ४० हजार खर्च लागेको संसद् सचिवालयले जनाएको छ।  

अघिल्लो प्रतिनिधिसभाका सदस्यहरूले लिएका ‘लोगो’ अझै फिर्ता गरेका छैनन्। राष्ट्रियसभामा दुई वर्षे कार्यकाल र चार वर्षे कार्यकालमा परेर बिदा भएका सांसदले पनि अझै ‘लोगो’ फिर्ता गरेका छैनन्। त्यस्तै कारबाहीमा परेका सांसदले पनि ‘लोगो’ फिर्ता नगरेको संसद् सचिवालयका एक अधिकारीले बताए।  

‘संसद् सचिवालयले दिएको लोगो सांसद नहुँदा प्रयोग गर्न मिल्दैन, यो नैतिकताको विषय हो,’ ती अधिकारीले भने। राजनीतिक र व्यक्तिगत फाइदा लिन कसैले यो ‘लोगो’लाई गलत ठाउँमा प्रयोग गर्न सक्ने सम्भावना रहन्छ। ‘लोगो’ फिर्ता नआए पनि कुनै अप्रिय घटना भने नभएको संसद् सचिवालय सुरक्षा स्रोतले बतायो।

सांसदले आफूले पाएको ‘लोगो’ कार्यकाल सकिएपछि पनि फिर्ता नगरी घरमै सजाएर राख्न माग गरेको संसद् सचिवालयका अधिकारी बताउँछन्। गत असोज १ गते अघिल्लो प्रतिनिधिसभाको कार्यकाल सकिएको थियो। तर त्यो कार्यकालका सांसदले ‘लोगो’ संसद् सचिवालयमा फिर्ता गरेका छैनन्।  

यो ‘लोगो’ एक ऐतिहासिक चिनारी भन्दै आफ्ना पुस्तालाई देखाउन उनीहरूले घरमै राख्न चाहेका एक नेताले बताए। संसद् सचिवालयले नयाँ प्रतिनिधिसभाका २७३ सदस्यलाई शपथका बेला लोगो उपलब्ध गराइसकेको छ। दुई जनाले शपथ नलिएका कारण उपलब्ध गराउन बाँकी छ। संसद् सचिवालयले सांसदलाई पहिलोपटक निःशुल्क लोगो उपलब्ध गराउँछ। तर हराएमा जति मूल्य हो त्यत्ति तिरेर लिनुपर्छ।

२०७७ जेठ ३१ गते संसद्ले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र समेटिएको नेपालको परिवर्तित चुचे नक्सा संविधानको अनुसूचीमा रहेको निशान छापमा राख्न अनुमोदन गरेपछि २०७७ भदौमा सांसदका लागि नयाँ लोगो बनाइएको थियो। नयाँ लोगोमा २ लाल सुन र १ तोला चाँदीको लेप छ। लोगोमा रहेको नेपालको नक्सा पित्तलबाट तयार भएको छ भने ‘वेस’ चाँदीको हो। दुई हातमा तामाको प्रयोग भएको छ। लोगोको व्यास (एक छेउबाट अर्को छेउ) ३ दशमलव ५ सेन्टिमिटर छ। ज्याला र सुन, चाँदी र धातुको मूल्यसमेत गरी लोगोको मूल्य निर्धारण गरिएको हो।

प्रकाशित: १६ पुस २०७९ ००:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App