१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दाहालप्रति कांग्रेस सकारात्मक

वर्तमान सत्ता गठबन्धनबाट पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा कांग्रेस सकारात्मक देखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई नयाँ सरकार बनाउन दिएको समयसीमा यही पुस १० गतेसम्म छ।

दाहालले गठबन्धन दल र नेकपा एमालेसँग सरकार निर्माणका विषयमा समानान्तर संवाद अघि बढाएपछि उनलाई पहिलो चरणमै प्रधानमन्त्री दिन कांग्रेस सकारात्मक देखिएको हो। दाहाललाई प्रधानमन्त्री बनाउन एमाले लचिलो बनेको संकेत पाएपछि कांग्रेस पनि उनीप्रति सकारात्मक बनेको स्रोत बताउँछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा मुलुक गम्भीर संकटबाट गुज्रिरहेको र संकट समाधानमा दाहालबाट प्रतिबद्धता आए प्रधानमन्त्रीमा समर्थन गर्न सकिने संकेत गरेका थिए।  

कांग्रेसले राष्ट्रपति आफूले लिएर दाहाललाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन सकिने संकेत गरेको स्रोतले बतायो। दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा कांग्रेसले संस्थागत निर्णय भने गरेको छैन। ‘प्रचण्ड (दाहाल) जीले प्रधानमन्त्रीमा दाबी गर्नुभएको छ। तर यस विषयमा पार्टीले निर्णय गरिसकेको छैन,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने। प्रधानमन्त्रीका विषयमा कांग्रेसले निर्णय गरिनसके पनि राष्ट्रपतिले दिएको समयसीमाभित्र गठबन्धनबाटै सरकार बन्ने उनले बताए।  

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालसँँग बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पनि दाहालले पहिलो चरणमा आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न प्रस्ताव गरेका थिए। दाहालको प्रस्तावमा देउवाले प्रष्ट जवाफ नदिए पनि छलफलका लागि खुला रहेको संकेत गरेका थिए। प्रधानमन्त्रीका आकांक्षी दाहालले बिहीबार सांसद पदको शपथ लिएलगत्तै संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान सत्ता गठबन्धनमा सबै प्रक्रिया सहज ढंगले अघि बढिरहेको र नयाँ सरकार गठबन्धनबाटै सहज ढंगले बन्ने बताएका थिए। उनले आफू पहिले प्रधानमन्त्री हुने कि देउवा भन्नेमा छलफल भइरहेको र छिट्टै सहमति हुने पनि बताए।  

माओवादी केन्द्रका नेता जनार्दन शर्माले पनि संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धनबाट सुरुमा दाहाल प्रधानमन्त्री हुने र राष्ट्रपति नेकपा एसका अध्यक्ष नेपाल वा कांग्रेस नेता रामचन्द्र पौडेलमध्ये एक हुने बताए। नेकपा एसका अध्यक्ष नेपालले पनि सांसद पदको शपथ लिएलगत्तै वर्तमान सत्ता गठबन्धन कायमै रहने बताए। वर्तमान सत्ता गठबन्धनबाट आफूले प्रधानमन्त्री नपाए अलग्गिएर एमालेसँग साझेदारी गर्ने मनस्थितिमा दाहाल छन्। दाहाल एमाले गठबन्धनमा नजोडिउन भनेर उनलाई प्रधानमन्त्री बनाउने विषयमा कांग्रेस सभापति देउवा पनि लचक भएको उच्च स्रोतले जनाएको छ।

प्रकाशित: ८ पुस २०७९ ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App