coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकार गठनको केन्द्रमा माओवादी

नयाँ सरकार गठनका लागि गृहकार्य भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार शक्ति केन्द्रका रूपमा देखिएको छ। एक सातादेखि विभिन्न दलका नेताहरूले दाहालसँगको भेटघाटलाई तीव्रता दिएसँगै खुमलटार शक्ति केन्द्रका रूपमा स्थापित भएको हो।  

निर्वाचन परिणाम आएपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर छलफल गरिरहेका माओवादी अध्यक्ष दाहालले सत्ता गठबन्धनभित्र र बाहिरका पार्टीका नेताहरूसँग पनि भेटघाट गरिरहेका छन्। एमाले उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल, सचिव रघुवीर महासेठलगायतका नेताहरूले पनि दाहाललाई भेटिसकेका छन्।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्का, नेता अर्जुननरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाण, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतका नेताहरूले पनि दाहाललाई भेट्दै आएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महेन्द्र राय यादवले पनि दाहालसँग भेटघाट गरेका छन्।

वर्तमान सत्ता गठबन्धनमा आबद्ध दलहरूले माओवादीलाई सरकार बनाउने केन्द्रका रूपमा हेरेका छन्। प्रतिनिधिसभामा ३२ सिट जितेको माओवादी सरकार बनाउनका लागि आवश्यक ‘चुकुल’का रूपमा देखिएको छ। जसले गर्दा कांग्रेस र एमाले दुवैले माओवादीलाई आ–आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन्।  

वर्तमान सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने भने पनि माओवादीसँग ऊ निरन्तर संवादमा छ। त्यसो त डेढ वर्षअघि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको भन्दै माओवादी केन्द्रले निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पार्टी अध्यक्ष दाहालले पाउनुपर्ने दाबी गर्दै आएको छ। दाहालले कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवासँग पनि यो कुरा राखिसकेका छन्।  

नयाँ सरकार गठनका विषयमा देउवा र दाहालबीच बुधबार साँझ र बिहीबार पनि छलफल भएको छ। छलफलमा देउवा र दाहाल दुवैले सरकारको नेतृत्व दाबी गरे पनि प्याकेजमै छलफल गर्ने कुरामा सहमति भएको स्रोतको दाबी छ। दाहालले बिहीबार आफ्नो पार्टीका नेताहरूलाई निरन्तरका वार्ता प्रक्रियाको ब्रिफिङ गरेका छन्। सत्ता गठबन्धनबाहिरका दलका नेताहरूसँग पनि छलफल चलाएका दाहालले कांग्रेससँगको सम्बन्धका आधारमा मात्रै आवश्यक परे नयाँ विकल्पमा जाने संकेत दिएका छन्।  

स्रोतका अनुसार मंगलबार साँझ दाहालले एमाले उपाध्यक्ष नेम्वाङलाई ‘कांग्रेससँग सहकार्यको ढोका बन्द भएको अवस्थामा मात्रै माओवादीले एमालेसँग कुराकानी अघि बढाउने’ बताएका थिए। एमाले सचिव महासेठसँगको भेटमा पनि दाहालले सोही कुरा बताएको स्रोतको दाबी छ।  

कांग्रेससँग शक्ति सन्तुलन र पहिलो कार्यकाल साढे दुई वर्षका लागि प्रधानमन्त्री नपाए दाहालले एमालेसँग सहकार्य गर्ने संकेत गरेका हुन्।  

केही दिनभित्रै एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालबीच कुराकानी गराउने तयारी भएको छ। त्यसका लागि एमालेले नेकपा हुँदै गर्दा दाहालद्वारा ओलीमाथि लगाइएका आरोप फिर्ता लिनुपर्ने सर्त राखेको छ। कांग्रेससँगको सहकार्य टुटाए दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने संकेत एमालेले दिइसकेको छ।  

‘एमाले–माओवादी बीच विश्वासको चरम संकट छ। सत्ता गठबन्धन छाडेमा र ओलीमाथि लगाएका आरोपमा माफी मागे दाहाललाई प्रधामन्त्री स्वीकार गर्न आपत्ति छैन’, एमालेका एक नेताले भने। माओवादी अध्यक्ष दाहालले पनि बिहीबार बसेको पदाधिकारी बैठकमा एमाले अध्यक्ष ओलीबाट मिलेर सरकार बनाउन प्रस्ताव आएको बताएका छन्। एमाले सचिवालयको बिहीबार बसेको बैठकले जनादेशअनुसार आगामी दिनमा सरकार गठनसम्बन्धी निर्णय लिन अध्यक्ष ओलीलाई जिम्मा दिएको छ।

नेपाल राष्ट्रपति !  

शक्ति सन्तुलन र सत्ता बाँडफाँटको विषयमा सहमति जुट्दै गए नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनेगरी राजनीतिक गृहकार्य अघि बढेको छ। अहिलेका सत्ता गठबन्धनले नयाँ सरकार बनाउँदा सुरुमा पुष्पकमल दाहाल प्रधानमन्त्री भए राष्ट्रपतिमा माधवकुमार नेपाललाई प्रस्ताव गर्ने सम्भावना छ। संसद् भवन नयाँ बानेश्वरमा बिहीबार सांसद पदको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन दलहरू संसदीय दलको नेता चयनमा व्यस्त रहेको र आफू पनि बिरामी भएकाले नयाँ सरकार गठनका विषयमा कुनै छलफल नभएको दाबी गरेका थिए। त्यस्तै राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा सोधिएको प्रश्नमा उनले कल्पनाका आधारमा जवाफ नदिने बताए पनि जिम्मेवारी लिने कु्रालाई नकार्न सकेनन्। ‘नेपाली राजनीतिले गरेको अपेक्षाअनुसार भूमिका निर्वाह गर्न म अघि बढ्नेछु, उमेरले पनि ७० वर्ष पुगिसकें, आवश्यक परेको अवस्थामा जिम्मेवारी लिन सकिन्छ’, नेपालले भने।

प्रकाशित: ८ पुस २०७९ ००:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App