४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशसभा सदस्यको शपथ सोमबार

कर्णाली प्रदेशसभामा निर्वाचित सांसदहरुको पद तथा गोपनीयताको शपथ सोमबार हुने हुने भएको छ। 

ज्येष्ठ प्रदेशसभा सदस्य विनोद कुमार शाहलाई प्रदेश प्रमुख तिलक परियारले सोमबार बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।

सोही दिन दिउँसो तीन बजे प्रदेशसभा सचिवालयमा ज्येष्ठ सदस्य शाहले अन्य ३९ जना सांसदलाई शपथ गराउने छन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले ज्येष्ठ सदस्यलाई शपथका लागि उपस्थित गराइदिन प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको बताए।

‘प्रदेशसभाका ज्येष्ठ सदस्यलाई सोमबार बिहान साढे ११ बजे शपथका लागि खबर गरेका छौं,’ प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव थानीले भने, ‘प्रदेश प्रमुखबाट ज्येष्ठ प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएपछि अन्य सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउन बाटो खुल्छ।’

प्रदेशसभा सचिवालयले पनि सोही दिन दिउँसो तीन बजेका लागि नवनिर्वाचित प्रदेश सांसदहरूका लागि पद तथा गोपनीयताको शपथको कार्यक्रम राखेको छ। प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ बमोजिम प्रदेशसभा सदस्यमा निर्वाचित ज्येष्ठ सदस्य विनोदकुमार शाहबाट नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराइने बताए।

‘निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटोसहित निर्वाचित समय भन्दा दुई घण्टा अगाडि राष्ट्रिय पोसाक वा आ–आफ्नो संस्कृति, पहिचान झल्किने पोसाकमा उपस्थितिका लागि अनुरोध छ,’ बिहीबार प्रदेशसभा सचिवालयले जानकारी गरेको सूचनामा भनिएको छ।

प्रदेशसभा सचिवालयले मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले शपथको ब्यहोरा आफ्नो मातृ भाषामा अनुवाद गरेर प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन अनुरोध गरेको छ।

प्रकाशित: ७ पुस २०७९ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App