६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सदनमा भौतिक दुरी कायम राखेर शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई भौतिक दुरी कायम गरी पद तथा गोपनीयताको शपथ गराइने भएको छ। नवनिर्वाचित सांसदलाई नयाँबानेश्वरस्थित संसद् भवनमा भौतिक दुरी कायम गरेर बिहीबार शपथ गराउने तयारी संसद् सचिवालयले गरेको छ। कोरोना महामारीमा भौतिक दुरी कायम गरी संसद् बैठक सञ्चालन गरिएको थियो। अहिले कोरोना संक्रमणदर न्यून छ। तापनि सम्भावित संक्रमणबाट जोगिन सदनमा सांसदको शपथ तथा बैठक सञ्चालन गर्दा भौतिक दुरी कायम गरिने भएको हो।  

शपथमा ठूला दल प्रत्येकलाई एउटा ‘रो’ उपलब्ध गराइनेछ। त्यस्तै साना दलको हकमा एउटा ‘रो’ विभाजन गरी कम्तीमा दुइटा दलका लागि उपलब्ध गराउने तयारी भएको संसद् सचिवालयले जनाएको छ।  

संसद् भवनमा बस्ने ६ वटा ‘रो’ छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सातवटा दल (नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी) ले राष्ट्रिय मान्यता पाएका छन्। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका ८९, एमालेका ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनमत पार्टीका ६, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका १२, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १, नेपाल मजदुर किसान पार्टीका १ र स्वतन्त्र ५ सांसद छन्।

मात्रृभाषामा शपथ लिनेले त्यसको जानकारी बुधबारसम्म संसद् सचिवालयमा दिनुपर्ने छ। अहिलेसम्म नेपाली, मैथली, भोजपुरी, लिम्बु, थारु, तामाङलगायत मात्रृभाषामा शपथ लिन सचिवालयमा निवेदन परेका छन्।  

शपथको बेहोरा मातृभाषामा अनुवाद गरी त्यसको प्रति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम संघीय संसद् सचिवालयमा उपलब्ध गराउनुपर्नेछ। नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन) मा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदलाई शपथ गराउने तय भएको छ। जबराले राष्ट्रपतिसमक्ष शपथ लिएपछि अरू सबै सांसदलाई शपथ गराउनेछन्। संविधानको धारा ८८ बमोजिम संघीय संसद्का निर्वाचित सांसदले सदन वा समितिको बैठकमा पहिलोपटक भाग लिनुभन्दा अगाडि पद तथा गोपनीयताको शपथ लिनुपर्छ। शपथग्रहण कायर्यक्रम बिहीबार दिउँसो १ बजे सुरु हुनेछ।  

सांसदका पति वा पत्नीलाई पनि बस्ने व्यवस्था  

संसद् सचिवालयले बिहीबार नवनिर्वाचित सांसदको पद तथा गोपनीयताको शपथका बेला संसद् भवनभित्र विवाहित सांसदका पति वा पत्नीका लागि पनि बस्ने व्यवस्था मिलाएको छ। संसद् भवनको बाल्कोनीमा विवाहित सांसदका पति वा पत्नीलाई बस्ने व्यवस्था गरिएको हो।

प्रकाशित: ६ पुस २०७९ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App